लन्डन दूतावासमा उर्जा क्षेत्रमा लगानी सम्बन्धमा सम्मेलन सम्पन्न-

लन्डन । आगामी नोभेम्बर पहिलो साता बेलायतको ग्लास्गोमा सम्पन्न हुने संयुक्त राष्ट्र संघिय जलवायु परिवर्तन सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप-२) को सन्दर्भमा नेपाली राजदूतावास लण्डनमा बुधबार  एक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली दूतावास लण्डन, लगानी बोर्ड नेपाल, नेपालस्थित ब्रिटिश राजदूतावास र डेभलपिङ मार्केट एसोसिएटस (डीएमए) को संयुक्त आयोजनामा ‘यूके नेपाल इनर्जी ट्रान्जिसन् एन्ड काउन्टडाउन टु कोप २६’ विषयक लगानी सम्मेलन सम्पन्न भएको हो ।

पेरिस क्लाइमेट एग्रिमेन्ट अन्तर्गत जलवायु परिवर्तनका सन्दर्भमा नेपालको प्रतिवद्धताको पुनर्पुष्टि एवं इनर्जी ट्रान्जिसनको लागि उपयुक्त परियोजनाहरुको सम्बन्धमा छलफल गरी विशेषत हरित एवं नवीकरणीय उर्जा क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहित गर्ने उद्देश्यले भर्चुअल तथा भौतिक माध्यमबाट उक्त कार्यक्रम गरिएको नेपाली दूतावासले जनाएको छ ।

जलविद्युत एवं अन्य नवीकरणीय हरित उर्जासँग सम्वद्ध नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्ता तथा उक्त क्षेत्रमा लगानी गरिरहेका नेपाली लगानीकर्ता एवं व्यवसायीहरुको संलग्नता रहेको उक्त सम्मेलनमा नेपालका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न एवं कार्वनरहित विकास गर्ने लक्ष्यअनुरुप हरित एवं नवीकरणीय उर्जा क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताउँदै लगानीकर्ताका लागि ठूलो अवसर हुने भएकोले जलविद्युत एवं अन्य नवीकरणीय उर्जा क्षेत्रमा लगानी गर्न अनुरोध गरे ।

कार्यक्रममा नेपाल तथा बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुबीच भर्चुअल माध्यमबाट परिचय तथा व्यवसाय सम्बन्धमा विभिन्न छलफल पनि भएका थिए ।