काठमाडौं- आज फेब्रुअरी १४ तारिख अर्थात प्रेम दिवस। नेपालसहित विश्वभर आइतबार भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ।
प्रेम दिवसलाई विशेष गरी युवा युवतीले चाडकै रुपमा मनाउने गर्दछन्। प्रेम दिवसका दिन प्रेमीले प्रेमिकालाई र प्रेमिकाले प्रेमीलाई विभिन्न उपहार दिएर माया दर्शाउने र आफूलाई मन परेको व्यक्तिसामू प्रेम प्रस्ताव पनि राख्ने गरिन्छ।
पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवसलाई विशेषरुपमा मनाउन थालिएको छ। ‘भ्यालेन्टाइन डे’ को औपचारिकरुपमा सन् २६९ रोमनबाट सुरु भएको हो। प्राचिन रोमनबाट सुरु भएको प्रेम दिवस पछि मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा पनि १४ फेब्रुअरीका मनाउन थालिएको हो।
तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए।
तर सम्राटको नियम उल्लघंन गर्दै रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाएपछि धेरै सैनिकको उनैले सार्वजनिक रुपमा विवाह गराएका थिए।
सम्राटले आफ्नो नियम उल्लघंन गर्ने पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिएका थिए। त्यसके सम्झनामा फेब्रुअरी १४ लाई मायाप्रतिको त्याग र समर्पण गरेको सम्झनामा प्रणय दिवस अर्थात प्रेम दिवस मनाउन थालिएको हो।






