काठमाडौं – आठ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएर संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका १ सय २४ नेपाली सुरक्षागार्डले ९ महिनादेखि काम पाएका छैनन् । कम्पनीले काम दिन नसक्ने भएपछि उनीहरू नेपाल फर्कने भएका छन् ।
वैदेशिक रोजगारमा जाने कामदारका लागि लागत खर्च नि:शुल्क भए पनि म्यानपावर कम्पनीहरूले आकर्षक तलब र सेवासुविधा देखाएपछि उनीहरू ८ लाख रुपैयाँसम्म बुझाएर यूएई पुगेका हुन् । यूएईको अर्धसरकारी कम्पनीको अवसर पाउने भएपछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको जागिर छाडेर उनीहरू हमाय सेक्युरिटी सर्भिस कम्पनीमा काम गर्न गएका थिए ।
कम्पनीले मासिक ४ हजार दिराम (एक लाख २० हजार रुपैयाँ) सम्म तलब दिने भनेपछि उनीहरूले म्यानपावरलाई मागे जति रकम बुझाएका हुन् । कम्पनीले काम दिन नसकेपछि स्वदेश फिर्ता गर्ने तयारी गरेको छ । ‘कम्पनीले नयाँ प्रोजेक्ट नपाएपछि नेपालीले काम पाउन नसकेका हुन्,’ यूएईका लागि नेपाली श्रम सहचारी भेषबहादुर कार्कीले भने, ‘पीडित कामदारलाई काम दिलाउन दूतावासका तर्फबाट निरन्तर प्रयास भइरहेको छ ।’






