आज चुनावको मिति तोक्ने तयारी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकमा असहमतिका बीच स्थानीय चुनाव मिति तोक्ने तयारी गरेका छन् ।

मन्त्रिपरिषदको बिहीबार बस्ने बैठकबाट चुनावको निर्णय लिइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए । स्रोतका अनुसार वैशाख मसान्तदेखि जेठ २० सम्ममा चरणबद्ध गरिसक्ने गरी मिति तोक्न तथा त्यसका लागि आवश्यक सबै तयारी गर्न आयोगलाई पत्र दिन लागिएको हो ।

चैतभित्र स्थानीय निकायको चुनाव सकाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भन्दै साउन १९ मा प्रधानमन्त्री बनेका दाहालले ६ महिनापछि बल्ल आएर चुनाव मिति तोक्न लागेका हुन् ।

मोर्चा नेताहरूभित्र संशोधन विधेयकको ‘कन्टेन्ट’ लाई लिएर केही मतभेद देखिए पनि त्यो पारित नहुन्जेल चुनावमा गए प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुरले अहिलेकै अवस्थामा चुनाव भए बहिष्कार गर्ने भन्दै चेतावनी दिइसकेको बताए ।