डिजिटल भविष्य निर्माणका लागि विद्यार्थी सशक्तिकरण विषयक कार्यक्रम सम्पन्न

सिड्नी, ।डिजिटल भविष्य निर्माणका लागि विद्यार्थी सशक्तिकरण भन्ने नारासहित डिजि स्कुल अष्ट्रेलियाको आयोजनामा एक विशेष अन्तरक्रियात्मक तथा स्वागत कार्यक्रम सिड्नीस्थित टाउन हलमा सम्पन्न भएको छ। SoftEd Group of Companies अन्तर्गतको Softwarica College of IT and E-Commerce तथा UniCampus Global को सहकार्यमा आयोजित कार्यक्रममा नेपालबाट आएका डिजि स्कुल ग्लोबलका प्राध्यापकहरू, शिक्षा क्षेत्रका विज्ञ, कलेजका अध्यापक तथा शिक्षा प्रेमीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रम संयोजक मुक्तिराम पोखरेलले जानकारी दिए।

कार्यक्रममा ई–कमर्स, आईटी तथा डिजिटल प्रविधिसम्बन्धी गुणस्तरीय शिक्षाको महत्वमाथि चर्चा गरिनुका साथै डिजिटल साक्षरता, टिम स्वागत तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो।  शिक्षा समूह नेपालका पूर्व पश्चिमाञ्चल संयोजक तथा न्यु साउथ वेल्स फेन्का संयोजक मुक्तिराम पोखरेलले  डिजि स्कुल परियोजनाले डिजिटल सीप विकासमार्फत विद्यार्थीहरूलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउने उद्देश्य लिएको बताए।

डिजि स्कुल ग्लोबल नेपालका अध्यक्ष, शिक्षा प्रेमी तथा व्यवसायी विज्ञान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मुक्तिराम पोखरेलले गरेका थिए भने डिजि स्कुल अष्ट्रेलियाका प्रमोटर सन्देश राजभण्डारीले स्वागत मन्तव्य दिएका थिए।कार्यक्रममा डिजिएन नेपालका सीईओ राजु बानियाँले हालसम्म सम्पन्न परियोजनाहरूको उपलब्धि प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए। त्यस्तै SoftEd Group का निर्देशक प्रमोद पौडेल, नेपाल चेम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष तथा समाजसेवी राजेन्द्र मल्ललगायत विभिन्न शिक्षा विज्ञ, व्यवसायी, समाजसेवी, पत्रकार तथा प्राध्यापकहरूले डिजिटल शिक्षाको वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे आफ्ना धारणा राखेका थिए।

अध्यक्ष श्रेष्ठले आफ्नो मन्तव्यमा सन् २०१९ मा सुरु भएको डिजि स्कुल परियोजनाबाट हालसम्म करिब ३०० विद्यालयका ५० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएको जानकारी दिँदै नेपालका साथै अष्ट्रेलिया, युकेजस्ता देशहरूमा पनि परियोजना विस्तार भइरहेको बताए। उनले परियोजनामूलक अध्ययन, अन्तर्राष्ट्रिय सञ्जाल र छोटो अवधिका पाठ्यक्रममार्फत विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको स्पष्ट पारे।कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिताले डिजिटल शिक्षाप्रति बढ्दो चासो र प्रवासी नेपाली समुदायबीच शैक्षिक सहकार्यलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *