तक्दीर अधिकारी,
सिड्नी । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिम वाग्ले डिसेम्बर पहिलो साता अस्ट्रेलिया भ्रमणमा आउने भएका छन्। डा. स्वर्णिम वाग्लेले अस्ट्रेलियाका तीन सहरमा अन्तर्क्रिया कार्यक्रममार्फत नेपाली समुदायलाई भेट्ने तयारी गरेका छन्। प्रवास नेपाली सम्पर्क विभाग, अष्ट्रेलियाले नेपाली समुदायसँग विचार तथा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले डिसेम्बर २ गते मङ्गलबार सिड्नीको मेरील्याण्ड्सस्थित द गार्डेन्स फङ्सन सेन्टरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम बेलुका ६ बजेदेखि ९ बजेसम्म चल्नेछ। एनएसडब्ल्यु कमिटीका सचिव सूर्य न्यौपानेका अनुसार कार्यक्रममा प्रमुख सहभागिताका रूपमा डा. वाग्ले उपस्थिति रहनेछन् ।
अस्ट्रेलियाली सरकारको आतिथ्यमा क्यानबेरास्थित अस्ट्रेलियन नेसनल विश्वविद्यालयमा डिसेम्बर ३ देखि ५ सम्म आयोजित हुन लागेको वार्षिक ‘एड’ सम्मेलनमा डा. स्वर्णिम वाग्ले विशेष विज्ञ वक्ताका रूपमा सहभागी हुने भएका छन्। सह–आयोजक एशिया फाउन्डेसनका अनुसार उनले सार्वजनिक वित्त, लगानी तथा दान–सहयोगसँग सम्बन्धित विषयमा प्राज्ञिक प्यानल छलफलमा भाग लिनेछन्, जसले फेरिँदो विकास सहायता प्रणालीका वैकल्पिक मोडलबारे नयाँ दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, क्यानबेरामा पनि सोही प्रकृतिको अन्तर्क्रिया कार्यक्रम यही डिसेम्बर ४ गते बिहीबार ‘गोल्डेन मोमेन्ट इभेन्ट्स सेन्टर’ फिसविकमा आयोजना हुने भएको छ। यस कार्यक्रमबारे जानकारी सुरेन्द्र पुरीले प्रदान गरेका छन् भने डा. वाग्लेको उपस्थितिमै पश्चिम अष्ट्रेलियाको पर्थ सहरमा प्रवास नेपाली सम्पर्क विभागद्वारा पहिलो राष्ट्रिय अधिवेशन पनि आयोजना हुने जानकारी कमल तिमिल्सनाले दिएका छन्। उक्त अधिवेशन आगामी डिसेम्बर ६ गते शनिबार दिउँसो १ बजे सुरु हुने कार्यक्रम तय गरिएको छ।
सिड्नीका लागि सम्पर्क सूर्य न्यौपाने ०४१४४५६७६१ र दिपेन्द्र उप्रेती ०४२४८१६१९६, क्यानबेराका लागि सुरेन्द्र पुरी ०४५०५५७६११ र पर्थका लागि कमल तिमिल्सना +६१ ४०१ ४५० ४३४ तोकिएको छ। आयोजकका अनुसार नेपाली समुदायको उपस्थिति र सहभागिताले कार्यक्रमहरूलाई अर्थपूर्ण बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।वाग्लेको अस्ट्रेलिया भ्रमण तथा सबै अन्तरक्रिया कार्यक्रमको तयारी पूरा भएको र अस्ट्रेलियाभरिका नेपाली समुदायहरू कार्यक्रममा सहभागी हुन तथा डाक्टर वाग्लेका विचार प्रत्यक्ष सुन्न निकै उत्साहित रहेको जानकारी प्रवास नेपाली सम्पर्क विभाग, अष्ट्रेलिया अध्यक्ष डा. कृष्ण पौडेलले दिएका छन्। साथै, सिड्नी, क्यानबेरा र पर्थमा स्थानीय संयोजकहरूलाई कार्यक्रमको पूर्ण संयोजन तथा व्यवस्थापन जिम्मा दिइएको वताए ।






