गुल्मी जिल्ला समाज यूकेको च्यारिटीमा-नौमती बाजा घन्किने गायक अर्जुनले दिने धमाका

शिब भण्डारी लण्डन । गुल्मी जिल्ला समाज यूकेले विश्व अपांगता दिवसको अवसरमा वर्षेनी गरिंदै आएको च्यारिटी कार्यक्रम यस वर्ष भव्य रूपमा गर्ने भएको छ।

च्यारिटी कार्यक्रम” नोभेम्बर ३० आइतबार दिउँसो १ बजे साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स कम्युनिटी सेन्टरमा गरिने भएको हो।

कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि रहने भएका छन् भने
बेलायतस्थित विभिन्न नेपाली संस्था र समुदायका प्रतिनिधिलाई निम्ताइएको छ ।

नेपालका अपांगता भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले आयोजना हुने च्यारिटी कार्यक्रममा सांगीतिक प्रस्तुतिका लागि यस अघिनै लण्डन आइपुगेका गुल्मी ईस्मामा जन्मिएका लोकप्रिय कलाकार अर्जुन कुँवरको प्रस्तुति र गुल्मेली प्रथम नौमती बाजा यूके डिजेको प्रस्तुतिका साथै स्थानीय कलाकारले पनि नृत्य प्रस्तुतिले विशेष आकर्षण थप्ने महासचिव महलाल घिमिरेले लण्डन नेपाल न्युजलाई बताए।

कार्यक्रममा स्थानीय कलाकारहरु जुना पुन, जेनिशा पुन, अलिशा पुन, अस्मिता मगर, विशाल तामाङ, युवराज डांगी, सुआज्ञा केसीलगायतले पनि आकर्षक नृत्यसहितका मनोरञ्जन दिने छन् ।

कार्यक्रमलाई उत्कृष्ट र प्रभावकारी बनाउन कार्यक्रम संयोजक उपाध्यक्ष मञ्जु भण्डारी  र सचिव राधा खरेलको समितिले व्यापक तयारी गरेको छ।

कार्यक्रम तयारीका सम्बन्धमा लण्डन नेपाल न्यूज संगको संवादमा अध्यक्ष रुद्र थापा एबम कार्यक्रम संयोजक उपाध्यक्ष मञ्जु भण्डारी खरेल तथा महासचिव महालाल घिमिरेले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र यस पुनीत कार्यमा सहभागिता जनाउन सबैलाई गुल्मी जिल्ला समाज युकेले निमन्त्रणा गरेको बताए ।

सांगीतिक र सांस्कृतिक मनोरञ्जनसँगै समाजले संकलित रकम नेपालका अपांगता भएका व्यक्तिहरूको सहयोगमा खर्च गर्ने कार्यक्रममा उक्त दिन उपस्थितिका लागी समाजका अध्यक्ष रुद्र थापाले अपिल गरेका छन ।

कार्यक्रमका लागि प्रवेश शुल्क २५ पाउण्ड छ जसमा डिनर समेत समावेश छ । १२ वर्ष मुनिका बालबालिका र ७० वर्ष माथिका वृद्धवृद्धा लाई निशुल्क छ ।

सन् २००७ मा संस्थापक अध्यक्ष ओमप्रसाद थापा (काउछा)को नेतृत्वमा स्थापित गुल्मी जिल्ला समाज यूकेले स्थापना कालदेखि नै परोपकारी, सामाजिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको छ।

कार्यक्रमको लागि खाना व्यवस्थापनको जिम्मा समाजका सलाहाकार रोम नाथ पाण्डेले गर्ने भएका छन्।