काठमाडौं । सरकारले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृह मन्त्री बिमलेन्द्र निधीको मन्त्रीस्तरीय निर्णयमा ३९ जना एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विभिन्न विवादका कारण लामो समयदेखि रोकिएको नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको हो । सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाण्डौ प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको छ । जोशी धौलागिरी अञ्चल प्रहरी कार्यालयमा थिए ।
यो सरुवासँगै महानगरीय अपराध महाशाखामा पनि नेतृत्व परिवर्तन भएको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ भने महाशाखाको जिम्मेवारी दिनेश अमात्यलाई दिइएको छ । अमात्य यसअघि प्रहरी युक्ति तालिम महाविद्यालय, नवलपरासीमा थिए ।
त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरबाट पिताम्बर अधिकारीलाई मञ्चल प्रहरी कार्यालय मेचीमा सरुवा गरिएको छ । ललितपुर परिसरमा ठूले राईलाई सरुवा गरिएको छ ।






