मोदी सरकारको अघोषित नाकाबन्दीप्रति भारतीय कम्युनिष्ट पार्टीका महासचिव आक्रोशित

yachuri

काठमाडौं, ११ असोज । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सिताराम येचुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामो अन्तरसम्बाद र सहमतिपछि दुई तिहाई बढि मतद्वारा जारी भएको गणतन्त्र नेपालको संविधानलाई खुलेर स्वागत नगरी असन्तुष्टी जनाउदै नेपाल—भारत सम्बन्धको छवि धुमिल्याउने खेलमा लागेको भन्दै आक्रोस व्यक्त गरेका छन् । येचुरी पार्टीको पोलिटव्यूरो बैठकबाट बाहिरीने क्रममा नेपालमा बनेको नयाँ संविधानको खुलेर स्वागत गरेका थिए । र उनले अथक प्रयासपछि नेपालले नयाँ संविधान हात पारेकोमा नेपाली जनतालाई बधाई ज्ञापन समेत गरेका छन् । लामो समयदेखिको संक्रमणकाल नेपालले छिचोलेको भन्दै नयाँ संविधानको आडमा टेकेर असन्तुष्ट रहेका र प्राप्त हुन नसकेका केही कुरा भए संविधान संशोधन मार्फत समेट्न सुझाएका छन् । नेपालले संविधानसभाबाट संविधान निर्माण गरेको घटना आफैंमा स्वागतयोग्य र उदाहरणिय भएको येचुरीले ठहर गरेका छन् । उनले नेपाल आफैमा एउटा सार्वभौमसम्पन्न मुलुक भएकाले नेपालमा हस्तक्षेपकारी व्यवहार देखाएको प्रति मोदीको कटु आलोचना गरेका थिए । उनले सोमबार विज्ञप्ती नै जारी गरेर भारतीय जनता पार्टी र उसको भातृ संगठनले नेपालमा हिन्दु राज्य घोषणा नभएकोमा बेखुसी रहेको कुरामा जानकार रहेको भन्दै नेपालसँगको सदियौ पुरानो सम्बन्धमा खलल नपुर्याउन भारतको केन्द्र सरकारलाई जानकारी गराउने बताए । नेपालसँग भारतको विशिष्ट परम्परा र ऐतिहासिक सम्वन्ध रहेको स्मरण गर्दै येचुरीले ती आधारहरुलाई कुल्चेर नाकाबन्दी गर्ने हदसम्म पुग्नु भारत सरकारको गम्भीर भुल भएको बताए । भारतले नेपालप्रति गरेको हस्तक्षेपकारी भुमीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता विपरित रहेकाले सार्वभौम नेपालमा यस्तो कदम तत्काल बन्द गर्न मोदीलाई चेतावनी दिए ।