प्रधानमन्त्रीको वक्तव्य ध्यान दिएर पढ्न कानूनमन्त्री आचार्यको आग्रह

काठमाडौं, २५ माघ। प्रधानमन्त्री सुशील कोइरालाको वक्तव्य ध्यान दिएर पढ्ने हो भने त्यो मूर्त एवं विपक्षी मोर्चाको मागअनुसार नै रहेको शान्ति तथा पुननिर्माण एवम् कानुनमन्त्री नरहरी आचार्यले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीको वक्तव्य लेखनमै सहभागी बनेका मन्त्री आचार्यले प्रधानमन्त्रीको वार्ता आह्वानमा कुनै अन्य नियत नरहेको बताए ।

‘शान्ति प्रक्रिया र जनआन्दोलनको कुरा गरेपछि १२ बुँदे, ८ बुँदे, सातबुँदे, चारबुँदे, २२ बुँदे सबै बुँदाहरु त्यसैमा समेटिएका छन्, शान्ति सम्झौतादेखि अन्तरिम संविधानको कुरा त्यहीँभित्र छन्’ आचार्यले आइतबार अनलाइनखबरसँग भने ।

एमाओवादी मोर्चाले औपचारिकरुपमा सरकारलाई कुनै प्रतिक्रिया नपठाए पनि अनौपचारिक तहबाट सम्पर्क भएको मन्त्री आचार्यले बताए । ‘प्रचण्डजी काठमाडौं फर्किएर वार्ताको प्रक्रिया शुरु गर्ने कुरा छ’ आचार्यले भने ।

प्रधानमन्त्रीले गरेको वार्ताको आह्वान अमूर्त रहेको एमाओवादी नेताहरुले प्रारम्भिक प्रतिक्रिया दिइरहेकै बेला मन्त्री आचार्य वक्तव्य राम्रोसित पढ्न आग्रह गरेका हुन् ।

विपक्षी मोर्चालाई सहमतिमा ल्याउन मन्त्री आचार्यले केही दिनदेखि प्रयत्न गर्दै आइरहेका छन् । यसक्रममा उनले सत्य निरुपण तथा मेलमिलाप आयोगसमेत तत्काल गठन गर्ने गृहकार्य अघि बढाएका छन् ।