काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।
कोरोनाभाइरसको असरका कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्ने लक्ष्यसहित मौद्रिक नीति सार्वजनिक गरेको बैँकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभएको छ। मौद्रिक नीति सार्वजनिक गर्दै अधिकारीले समयमै ऋण तिर्न नसक्ने उद्योगी तथा व्यवसायीहरुका लागि केही सहुलियतको पनि व्यस्था गरिएको बताउनुभयो।
उहाँका अनुसार बैँकमा तरलता सहज बनाउने, ब्याजदरमा छुट दिने र कर्जाको भाखा सार्ने लगायतका व्यवस्था गरिएको छ।
मौद्रिक नीतिमा अति प्रभावित पेशा–व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको गभर्नर अधिकारीले जानकारी दिनुभयो।
त्यस्तै कम मात्रामा प्रभावित भएको पेशा–व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।
२०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७७ पुस मसान्तभित्र लिखित कार्य योजना पेश गरेमा बैँक तथा वित्तीय संस्थाले सो को विश्लेषण गरी न्यूनतम १० प्रतिशत ब्याज असुल उपर गरी एक पटकको लागि कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने छन्।
सरकारले चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ। कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ।






