काठमाडौं- डेढ साता अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचबाट बाहिरिएको ३४ किलो सुन प्रहरीले बरामद गरेको घटना सेलाउन नपाउँदै सडकमार्गबाट भित्रिएको १५ केजी सुन बरामद भएको छ ।
काठमाडौंको बालाजुबाट १५ केजी अवैध सुन बरामद भएको छ । बालाजु वृत्तका डिएसपी सन्तोष तामाङका अनुसार टाटा सुमो गाडीको चालक बस्ने सिट पछाडि एउटा बक्स बनाएर त्यसभित्र अर्को फलामे बक्समा सुन राखिएको थियो । तर, प्रहरीले चालकलाई मात्र पक्राउ गर्न सक्यो, सुन मालिक भएको आशंका गरिएका व्यक्ति भने फरार भए ।
डिएसपी तामाङका अनुसार उक्त फलामे बक्सको वेल्डिङ हेर्दा निकै पुरानो देखिन्छ । वेल्डिङ गरेर बनाइएको फलामको बक्सभित्रको सुन पत्ता लगाउन पनि प्रहरीलाई घन्टौं लागेको थियो ।
प्रहरीका अनुसार सो सुन रसुवाको केरुङ हुँदै आएको उक्त सुन आएको थियो र चालकसँगै आएका एक व्यक्ति भने पक्राउ पर्नुअघि नै भाग्न सफल भएका छन् ।






