निगमसँग सवा दुई करोड लिटर तेल

petrolकाठमाडौं- भारतीय नाकाबन्दीअघि (भदौ मसान्तमा) नेपाल आयल निगमको देशभर रहेका डिपोमा करिब एक करोड ९० लाख लिटर (१९ हजार किलोलिटर) इन्धन थियो ।

देशभरका नौ डिपोमा अहिले दुई करोड १८ लाख २६ हजार लिटर इन्धन मौज्दात छ । डिजेल एक करोड ३४ लाख ९९ हजार लिटर र पेट्रोल ३५ लाख ९२ हजार लिटर छ ।

निगमले इन्धन वितरणमा नियन्त्रण गरेपछि मौज्दात बढेको हो । निगमसँग धेरै परिमाणमा इन्धन भए पनि वितरण बढाएको छैन । निगमले नाकाबन्दीयता तीनपटक निजी सवारीलाई इन्धन दिएको छ । त्यस्तै, ११ मंसिरदेखि अत्यावश्यक सेवाका सवारी साधनलाई कोटा तोकेर इन्धन वितरण हुादै आएको छ ।

निगमले उपत्यकामा पेट्रोल मागको १४.२८ प्रतिशत र डिजेल करिब ५० प्रतिशत वितरण गर्दै आएको छ । अहिले दैनिक दुई लाख ५० हजार लिटरका दरले पेट्रोल वितरण गर्दा उपत्यकामा रहेको मौज्दातले हप्ता दिनसम्म धान्न सकिन्छ भने डिजेल करिब १० दिनसम्म वितरण गर्न सकिन्छ ।

निगमको थानकोट डिपोको पेट्रोल भण्डारण गृह भरिएको छ । थानकोटको डिपोमा मुस्किलले १६ लाख लिटर अटाउने भण्डारण गृह रहेकामा १५ लाख ८६ हजार लिटर पेट्रोल मौज्दात छ । सोमबार साँझ काठमाडौं आइपुगेकामध्ये ६ ट्यांकर पेट्रोल खन्याउन नपाई राखिएको प्रवक्ता घिमिरेले बताए ।