लन्डन– मदन पुरस्कारका लागि सर्ट लिस्टमा परेको पुस्तक ‘निर्वाण’का लेखक घनश्याम खड्का लन्डनमा पाठक एवं पत्रकारमाझ भेटिए ।
कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादकसमेत रहेका खड्का छात्रवृत्तिमा हाल बेलायतमै अध्ययनरत छन् । उनले आफ्नो पुस्तकका विविध आयामबारे प्रष्ट्याए ।
निर्वाण कस्तो पुस्तक हो त ? ‘दुःखबाट मुक्ती बाहिरी प्रगतिले मात्र पुग्दैन । यो आन्तरिक चेतनाको कुरा हो । सत्यलाई हेर्ने र अनुभव गर्ने अवस्थासँग यो जोडिएको छ । निर्वाण दु:खबाट सदाकालका लागि छुटकारा पाउने त्यही अवस्थाको नाम हो,’ अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले आयोजना गरेको साहित्यिक सन्ध्यामा उनी पुस्तकबो बेलिबिस्तार लगाउँदै थिए ।
खड्काले पुस्तकको चुरो कुरा खोले, ‘संसारमा जति प्रगति भए पनि मानिसको दुःखमा परिवर्तन आएको छैन् । मान्छे ढुंगे युगमा पनि दुःखी थियो अहिले आधुनिक युगमा पनि दुःखी नै छ । सबभन्दा सम्वृद्ध भनिएका देशहरु जापान र अमेरिकामा आत्महत्या सबभन्दा धेरै छ । यसले पुष्टि गर्छ भौतिक सम्पन्नताले मात्र मानिसलाई खुसी दिँदैन् ।’
समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल प्रमुख अतिथि र बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली विशेष अतिथि रहेको कार्यक्रमका सभापति तथा प्रतिष्ठान अध्यक्ष साहित्यकार विकलचन्द्र आचार्यले कृतिमा जीवन दर्शनको गहिरो ज्ञान सटिक र रोमाञ्चकारी तवरबाट प्रस्तुत गरिएको बताए । उनले आधुनिक समयमा अध्यात्मिक चिन्तन अभावले धेरै मानिस भौतिक सुख सुविधा जस्तो अनावश्यक महत्वाकांक्षा लिएर रुमल्लिएकाले उनीहरु बढी असन्तुष्टि र चिन्तामा छटपटाइरहेको उल्लेख गरे ।
आचार्यले उपन्यास भित्र प्रेम र दर्शनलाई रोमाञ्चकारी तवरले पस्कने खड्कालाई निर्वाणको दोश्रो संस्करण लेख्न पनि सुझाए ।
प्रतिष्ठानकी महासचिव जया राईले सञ्चालन गरेको उक्त कार्यक्रममा पुरण थापाले पुस्तकले जीवनलाई रुपान्तरण गर्न सहयोग पुग्ने धारणा राखे ।
प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटाले स्वागत मन्तव्य दिएको कार्यक्रममा लेखक खड्का, नरेश काङमाङ राई,विकलचन्द्र आचार्य लगायतले कविता वाचन समेत गरेका थिए ।







