सिड्नी । नेपाललाई अस्ट्रेलियामा चिनाउने महान उद्धेश्य बोकेको नेपाल फेस्टिबल ब्रिजबेन २०२२ को तैयारी अन्तिम चरणमा पुगेको छ ।
गैरआवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले देशभरका ठुला शहरहरुमा हरेक दुइ वर्षमा आयोजना गर्दै आएको नेपाल फेस्टिबल केही दिन अगाडी मात्रै तास्मानियामा सकिएको थियो ।
नेपाल फेस्टिबल तास्मानिया २०२२ को कार्यक्रम सकेर अहिले एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा क्विसल्याण्ड राज्य परिषद सयोंजक बिनोद आचार्य र उनको टिम अस्ट्रेलियाका आफ्ना सहयात्री एवम् सहकर्मी र अन्य आफ्ना अतिथि पाहुनाहरुलाई कुरेर बसेका छन् ।
आगामी नोभेम्बर १३ तारिखमा ब्रिजवेनको मुटु मानिने किङजर्ज स्क्वायरमा हुने कार्यक्रममा आवश्यक सम्पूर्ण तैयारीहरु पुरा भईसकेको र अब अतिथि स्वागत एवम् आईतबारको प्रतिक्षामा मात्रै रहेको आचार्यले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।
नेपाल फेस्टिबल ब्रिसबेन यो पाँचौ नेपाल फेस्टिवल हो । यसवर्षको नेपाल फेष्टिबल ब्रिजवेनको मुख्य नारा सेलिब्रेटिङ डाइभरसिटी, एक्सप्लोरिङ अपरच्युनिटी अर्थात विविधतालाई आत्मसाथ गर्दै अवसरको खोजी गरौं भन्ने रहेको छ । यसपटकको फेस्टिबललाई थप व्यवस्थित र परिस्कृत गरिएको आचार्यको भनाई छ ।
कार्यक्रममा उप-प्रधानमन्त्री एवम् राज्य विकास र पूर्वाधार मन्त्री स्टीवन माइल्स, अस्ट्रेलियाका लागि नेपाली राजदुत माननीय कैलाशराज पोखरेल, ब्रोड वाटरका लागि सांसद डेभिड क्रिसफुल्ली लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।
त्यस्तै ब्रिसबेनबाट संघिय एम.पी. मा. स्टीफन बेट्स, ब्रिसबेन सिटी काउन्सिल सदस्य विकी हावर्ड गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष्य डा.बद्रि के सी, गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष्य नन्द गुरुङ लगायत विभिन्न राज्य समन्वय समितीका संयोजक तथा प्रतिनिधिहरू, क्विन्सल्याण्ड राज्यका बहुसांस्कृतिक समुदायका प्रतिनिधिहरू र क्विन्सल्याण्ड राज्यमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरू तथा अन्य गरी झण्डै १० हजार दर्शकको उपस्थिति रहने आयोजकको अपेक्षा रहेको छ ।
फेस्टिबल बिहान १० बजे देखि सुरु हुनेछ । १० बजेदेखि १२ बजेसम्म परेड विभिन्न जनजातिहरूको भेषभुषामा सुसज्जित भएर कुमारी, लाखे, झाँक्री लगायत विभिन्न बाजा र नाचहरू सहित नेपालको सांस्कृतिक विविधता झल्किने गरी ब्रिसबेन शहरको निश्चित भूभागमा परिक्रमा गरिनेछ ।
दिउसो १२ बजे देखि ३ बजेसम्म औपचारिक कार्यक्रम र दिउसो ३ बजे देखि बेलुका ५ बजे सम्म स्थानीय कलाकारहरूको कला प्रस्तुति, नाचगान, गीत संगीत सगैं रमाईलो मेला तथा बेलुका ५ बजे देखि साँझ १० सम्म नेपालबाट आएका कलाकारहरू दिपक बज्राचार्य एबम रिदम ब्याण्ड र लोकगायक प्रकाश सपूतले सागींतिक प्रस्तुती दिने आयोजकले जनाएको छ ।
नेपालको कला संस्कृति र नेपालीपनलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा प्रस्तुत गर्ने यो ठुलो अवसर रहेकाले सम्पूर्णलाई कार्यक्रममा उपस्थित हुन आचार्यले आग्रह समेत गरेका छन् ।






