लन्डनको वर्ल्ड ट्राभल मार्केटमा नेपालका २ दर्जन कम्पनीको सहभागिता,कसले के भने ?

लन्डन । पर्यटन सम्बन्धि विश्वकै कुम्भमेला वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) मा नेपालले यसवर्ष पनि उत्साहजनक सहभागिता जनाएको छ ।

नोभेम्बर ७ देखि ९ सम्म लन्डनको एक्सेलमा आयोजित उक्त मार्टमा नेपालबाट ट्राभल टुरिजम सम्बन्धी २४ वटा नेपाली कम्पनी सहभागी थिए । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न पर्यटन कम्पनीले सहभागिता जनाएका हुन् ।

मेला मार्फत् नेपालको पर्यटन गन्तव्य बारे विश्वभर प्रचार प्रसार गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए । कोभिड महामारीको झण्डै तीन वर्षपछि प्रत्यक्षरुपमा भएको उक्त अन्तर्राष्ट्रिय जमघटले नेपालको थलिएको पर्यटन व्यवसाय पुनरुत्थानमा सघाउ पुग्ने आशा रहेको रेग्मीले बताए । मेलामा नेपाली व्यवसायीले निजी क्षेत्रका पुराना व्यावसायिक सम्पर्कहरू नवीकरण गर्ने र नयाँ व्यापार साझेदारी स्थापना गर्ने अवसर पाएको भन्दै रेग्मीले यसबाट नेपालको पर्यटनलाई पुनः लयमा फर्काउन सहयोग पुग्ने उल्लेख गरे ।

नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मेलामा नेपालको स्टल उद्घाटन गर्दै सहभागी कम्पनीमार्फत् नेपाल प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेलामा विश्वभरका पर्यटनसँग सम्बन्धित संगठन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, ट्राभल एजेन्ट, टूर अपरेटर, होटल व्यवसायी, ट्राभल ट्रेक कम्पनी, यातायात अपरेटर, एयरलाइन्स, साहसिक खेलकुद कम्पनीलगायतको सहभागिता थियो ।

मेलामा सहभागी विश्व प्रख्यात एभरेष्ट म्याराथनका संस्थापक तथा ग्रिसका लागि नेपाली अवैतनिक दूत विक्रम पांडेकाजीले मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा दीर्घकालीन प्रभाव पार्ने आशा व्यक्त गरे । ‘नेपाली व्यवसायीले अन्य देशका व्यवसायीको अनुभव र आइडिया आदानप्रदान गर्ने अवसर पाएका छन् जुन उपलब्धि मान्नुपर्छु,’ उनले भने ।

यसै बीच लन्डनको ‘वर्ल्ड ट्राभल मार्केट’मा नेपालीको सहभागिताले पर्यटन प्रवद्र्धन र नेपालसँग रहेको पर्यटनको अथाह सम्भावना र आर्थिक समृद्धिका लागि महत्वपूर्ण साबित हुने लण्डन स्थित युबा उद्यमी एबम ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अननरी गुडविल एम्बेसडर बिनोद बरालले लण्डन नेपाल न्यूजलाई बताए ।