लण्डन । बेलायतमा राष्ट्रवादी नेपाली संगठनले श्री ५ पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस संयुक्त रुपमा (पुस २७ गते) ११ जनवरी मंगलबार दिउँसो साढे १२ बजे भब्य रुपले मनाउने भएको छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले लन्डन सडबरीस्थित हिमालयन क्लबमा एक कार्यक्रमबीच पृथ्वी जयन्ती आयोजना गर्न लागिएको लण्डन नेपाल न्युजलाई जानकारी दिए ।
भौतिक रुपमा बेलायतमा बस्ने अथितिहरु उपस्थिति भएर मनाउदै गर्दा भर्चुअलमा पनि नेपालबाट प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ र राजनैतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीको पनि सम्बोधन रहने उनले बताए ।
साथै सस्थाले उक्त दिन १ लाख रुपियाको पृथ्वी पुरस्कार एक जनालाइ दिने घाषणा गरिने छ र उक्त पुरस्कार पछि प्रज्ञा–प्रतिष्ठानमा एक कार्यक्रम गरि उपकुलपति डाक्टर जगमान गुरुङको हातबाट प्रदान गरिने उनले बताए ।
उक्त विशेष कार्यक्रमा उपस्थितिको लागि बेलायतमा रहेका विभिन्न नेपाली राजनैतिक संघ संगठन, जातीय संघ संस्था तथा बेलायतमा बस्ने सम्पूर्ण नेपालीहरुमा संस्थाले निमन्त्रणा गरेको छ ।
नेपाल सरकारले २७ पुषलाइ बिदा घोषणा गरि राष्ट्रिय दिबसको रुपमा मनाउने परम्पराको थालनी गर्न समेत उनले माग गरेका छन् ।
कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट बेलायत सरकारबाट कुनै नयाँ नियमबाट कार्यक्रमलाइ प्रभावित पर्न गएमा समयमै अबगत गराउने समेत संस्थाले जनाएको छ ।
गत बर्ष कोभिड महामारीको कारण अनलाइनबाटै मनाइएको सो कार्यक्रम यस पटक भने भौतिक र अनलाइन दुवै रुपमा गर्न लागिएको हो । सो कार्यक्रम लण्डन नेपाल न्यूजले प्रत्यक्ष रुपमा प्रशारण गर्ने भएको छ ।
भरत क्षेत्रीको एक्लो प्रयासमा संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले राजतन्त्र हटाइएपछिको प्रतिकुल परिस्थितिमा पनि विगत १३ वर्षदेखि पृथ्वी जयन्ती निरन्तर मनाउंदै आएको छ ।






