प्रधानमन्त्री मोरिसनको घोषणाः ओमिक्रोनको कारण लकडाउन हुँदैन

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले देशमा ओमिक्रोनविरुद्ध निरन्तर रुपमा लड्ने तर पूर्ण रुपमा लकडाउन भने नगरिने घोषणा गरेका छन् ।

पछिल्लो समय अष्ट्रेलियाको न्यू साउथ वेल्ससहितका विभिन्न राज्यहरुमा कोभिड संक्रमण बढ्दै गइरहेका छन् । जसमा ओमिक्रोन पनि रहेका छन् । अघिल्लो दिन ३ हजार भन्दा धेरै संक्रमित थपिएको केही बेरमै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।

क्रिसमस पर्वको समयमा लकडाउन हुने हो कि भन्ने चिन्तामा सर्वसाधारण रहेको अवस्थामा प्रधानमन्त्रीको उक्त भनाई आएको हो ।

डिसेम्बर १५ गतेबाट अन्तराष्ट्रिय विद्यार्थीहरुसहित विभिन्न भिजाबाहकहरु अष्ट्रेलिया ओर्लिरहेको अवस्थामा फेरी लकडाउन हुने हो कि भन्ने चिन्ता भइरहेको थियो ।

यस्तै बोर्डर नखुलाएका अन्य प्रदेश सरकारलाई पनि प्रधानमन्त्री मोरिसनले बोर्ड खोल्ने निर्णयमा अडिग रहन भनेका छन् ।

हामीले सहज किसीमका निर्णयहरू लिनु पर्छ, यसबाट आत्तिनु हुँदैन, उनले मंगलबार दिउँसो भने ।

यसअघि डिसेम्बर १ गतेबाट अन्तराष्ट्रिय नाका खोल्ने तयारी भएको अवस्थामा ओमिक्रोनको कारण १४ दिन स्थगन गर्दे डिसेम्बर १५ बाट खुला गरिएको थियो ।

१ लाख ६० हजार अन्तराष्ट्रिय विद्यार्थीहरु तथा ५० हजार कामदारहरु अहिले आउन थालेका छन् ।

यस अवस्थामा उनले भने, ‘यसअघि जस्तो बन्दाबन्दी हामी केही पनि गर्देनौं, लकडाउन यसअघि नै लगाइएको छ, अवस्था अहिले सबैनियन्त्रणमा छ ।’