कोभिड संक्रमित बढेसँगै अष्ट्रेलिया सरकारले ल्यायो ‘क्लोज कन्ट्याक्ट’को नयाँ परिभाषा

सिड्नी । कोभिड संक्रमणको अवस्था भयानक हुँदै जान थालेसँगै अष्ट्रेलिया सरकारले कोभिड लागेका र तिनको क्लोज कन्ट्याक्टलाई पुनः परिभाषित गर्ने तयारी गरेको छ ।

एकै दिन हजारौं कोरोनाको संक्रमित भेटिदै गर्दा सरकारले स्वास्थ्य मापदण्डमा कडाई गर्न लागेको हो । प्रधानमन्त्री स्कट मरिसनले अबदेखि कम्तीमा चार घण्टा घर वा अन्त कतै सँगै बसेको व्यक्तिलाई क्लोज कन्ट्याक्ट लिष्टमा राखिने जानकारी दिए ।

हालसम्म कोरोना संक्रमण भएको व्यक्तिसँग भेटेकै आधारमा वा त्यही क्षेत्रमा गएका आधारमा समेत आईसोलेसनका लागि पठाइने गरेको थियो । उक्त विषयलाई सरकारले पुनः परिभाषित गरिएको हो । यसरी चार घण्टा बिताएको व्यक्तिले पनि सात दिन आईसोलेसनमा भएको छ ।

जसमा छैठौंं दिन एन्टीजेन कोरोना परीक्षण गर्नुपर्ने छ भने परीक्षण नेगेटिभ आएमा बाह्रौं दिनमा अर्को र्यापीड टेष्ट गरेपछि बल्ल स्वतन्त्र रुपमा हिड्न पाइनेछ । यस्तै सरकारले कोभिड परिक्षणमा पनि संघीय सरकार र राज्य सरकारवीच सहकार्य गरी आधा आधा खर्च गर्ने निर्णय गरेको छ ।

बुधबार मात्रै अष्ट्रेलियामा एकैदिन १८ हजार संक्रमित भेटिएका थिए । जसमा न्यूसाउथवेल्समा मात्रै ११ हजार संक्रमित छन् । संक्रमित बढ्दै गएपनि सरकारले लकडाउन भने नगर्ने नीति लिएको छ ।