अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनको अभिव्यक्तिप्रति लेबर समर्थन नेपाली समुदाय के भन्छन् ?

तक्दीर अधिकारी

गत शुक्रबार प्रधानमन्त्री स्कट मोरिसनले दिएको अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमै हलचल मच्चाइदियो । अस्ट्रेलियाको अर्थतन्त्रमा एउटा महत्वपूर्ण खम्बा मानिएको अन्तर्राष्ट्रिय विद्यार्थीलाई अहिलेको संकटमा घर फर्किन सक्छन् भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले धेरैको मनमा चोट पुगेको छ । बहुसांस्कृति देश अस्ट्रेलियामा प्रवासीको मनमा चोट नपुग्ने त कुरै भएन । अस्ट्रेलियामा लिबरल पार्टीलाई सरकारमा पु-याउन प्रवासीको योगदानलाई नजरअन्दान गर्न मिल्दैन । यसमा नेपालीहरुको योगदान पनि एउटा अंश हो । अस्ट्रेलियामा रहेका नेपाली समुदाय पनि लिबरल र लेबर  दुवै पार्टीको समर्थन गर्छन् । लिबरल अहिले सत्तामा छ भने लेबर प्रतिपक्षी दल हो । प्रधानमन्त्री मोरिसनको अभिव्यक्तिप्रति विपक्षी दल लेबर पार्टीको समर्थन गर्ने नेपाली समुदाय के भन्छन् भनेर लन्डन नेपाल न्युजले उनीहरुको विचार बुझ्ने प्रयास गरेका थिए ।उनीहरुको विचारको सम्पादित अंश–

संकटकालमा देश छोड भन्न मिल्दैन
जानकी पौडेल रिमाल, महिला संयोजक एनआरएन ओसियाना
सरकारले कोरोना भाइरसको विश्वव्यापी संक्रमणलाई हेरेर आफ्ना नागरिकलाई पहिलो प्राथमिकतामा राख्नु राम्रो कुरा हो, तर अस्ट्रेलियाको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अन्तर्राष्ट्रिय समूह विशेष गरी भनाइले अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय सञ्जाललाई यतिखेर हलचल मच्चाएको छ । एसिया प्यासेफिकबाट आएका विद्यार्थीलाईहरु नजरअन्दाज गर्न मिल्दैन । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनेलाई यो आपत्तकालीन अवस्थामा देश छोड भनिएको भने त्यस्तो भन्न मिल्दैन । यस्ता कुरा मानवअधिकारविरुद्ध हुन जान्छ, कतिपय देशमा प्रवेशका लागि बोर्डर बन्द गरेको अवस्थामा प्रधानमन्त्री स्कट मोरिसनको भनाइले अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय सञ्जालले हलचल मच्चाएको छ, त्यसकारण प्रधानमन्त्रीको उक्त भनाइ परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।अस्ट्रेलिया को राजनीतिमा अन्य मुलका अस्ट्रेलियन नागरिक तथा समुदायले चासो राख्नु राम्रो कुरा हो । तर कुनै बेला बखत सरकार तथा प्रतिपक्षी लाई सरसल्लाह दिनुपर्दा भने समग्र समुदायको हितहुने खाल को सल्लाह सुझाव दिनु जरुरि हुन्छ l

लेबर पार्टीले ‘गो होम’ भन्दैन
अरुणकुमार तामाङ (अध्यक्ष निम्फा)
म लेबर समर्थक नै हुँ, प्रधानमन्त्री स्कट मोरिसनले पत्रकार सम्मेलनमा जुन बाक्य प्रयोग गर्नुभयो, त्यसको म समर्थन गर्दिन् । किनभने हामी विश्व समुदायमा बसोबास गछौं । नागरिकको सुरक्षा देशको पहिलो प्राथमिकता हो । तर, यहाँ अन्तर्राष्टिय विद्यार्थीले ठूलो आर्थिक योगदान दिएका छन् । त्यस्तो योगदान दिने समूहलाई अप्ठ्यारो परेको बेलामा प्रधानमन्त्रीले जुन बाक्य प्रयोग गरेका छन्, त्यो निन्दनीय छ । यहाँ रहेका कूटनीतिक नियोगमार्फत् यस्ता कुरा गरेको भए राम्रो हुन्थ्यो । सकेसम्म सहज तरिकाले फर्किन चाहने र बस्नेलाई वातावरण बनाइदिएको भए राम्रो हुन्थ्यो । मल्टिपल सोसाइटीमा ३३ प्रतिशतभन्दा बढी यो देशबाहिर जन्मेका नागरिक छन्, उनीको सम्मानमा चोट पुग्ने प्रधानमन्त्रीको भनाइ आउनु राम्रो होइन ।निर्वाचनका बेला लेबर पार्टीको क्याम्पियनमा हिडियो । लिबरल पार्टीका प्रधानमन्त्रीले जस्तो ‘गो होम’ लेबर पार्टीेले भन्दैन, उसले त उनीहरुलाई कसरी सेटल गराउन सकिन्छ भन्नेतर्फ सोच्छ ।

प्रधानमन्त्रीको अभिव्यत्ति खेदजन्य छ
तीर्थराज कार्की, सहसचिव एनआरएनए एनएसडब्लु
अस्ट्रेलिया हाम्रो कर्मभूमि हो, कोही धेरैअघि आए, कोही भर्खरै आएका छन् । नेपालबाट धेरैजसो विद्यार्थीको हैसियतमा आएका छन् । अहिले नागरिक बनेका छौं । यो अस्ट्रेलियन समुदाय हो, आजका विद्यार्थी भोलिका नागरिक हुन्, उनीहरुले नै यहाँको अर्थतन्त्र चलायमान बनाइरहेका छन् । कोरोना भाइरसको संक्रमणलाई विश्वभरि नै लकडाउन भइरहेको छ । यस्तो अवस्थामा नेपाली विद्यार्थी चाहेर पनि घर जान सक्ने अवस्थामाछैन । यही बेला प्रधानमन्त्रीको त्यो अभिव्यक्तिले धेरैलाई निराश बनाएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति खेदजन्य छ ।

अन्तर्राष्ट्रिय विद्यार्थी चरम मारमा छन्
गणेश केसी, पूर्वअध्यक्ष एनआरएन अस्ट्रेलिया
प्रधानमन्त्री स्कट मोरिसनले अहिलेको अवस्थामा जुन अभिव्यक्ति दिएका छन्, त्यसले आफ्ना नागरिकलाई पहिलो प्राथमिकतामा राखेका छन् । यो स्वभाविकै हो । तर अस्ट्रेलियाको आम्दानीको श्रोत अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । शिक्षा क्षेत्रलाई आम्दानीको श्रोत बनाएका छन् । झन्डै ८०–९० हजार नेपालीहरु नागरिक र स्थायी बसोबासको अधिकार लिएर बसेका छन् । हामीले नै मत दिएर जिताएको बनाएको सरकार हो । यो अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीको भावना समेट्नु पथ्र्यो । प्रधानमन्त्रीको अभिव्यक्तिमा ब्यालेन्स हुनुपथ्र्यो । लेबर पार्टीले अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेट्ने गरी सम्बोधन गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो । नागरिक सरह सुविधा दिन नसके पनि दुई चार महिनाका लागि विद्यार्थीलाई सहुलियत दिनुपर्छ ।

लिबिरल पार्टीलाई सरकारमा पु-याउन नेपाली समुदायको पनि योगदान छ । त्यसैले अन्तर्राष्ट्रिय विद्यार्थीलाई सम्बोधन गर भनेर लिबिरल पार्टीमा रहेका नेपाली समुदायले भन्नुपर्छ ।लेबर पार्टीको पहिलेदेखिको चाहना अन्तर्राष्ट्रिय विद्यार्थी मारमा परेका छन्, उनीहरुलाई काहिँ न काहिँ सम्बोधन गर्नुपर्छ भन्ने प्रतिपक्षको आवाज छ । यो इस्युमा प्रतिपक्षी दलका नेता बोलिसक्नु भएको छ ।

प्रतिपक्षीको कुरा सुन्दैन यो सरकार
गणेश तामाङ, अध्यक्ष, नेपाली समाज अस्ट्रेलिया
अस्ट्रेलियाको आर्थिक क्षेत्रमा योगदान अन्तर्राष्ट्रिय विद्यार्थीले पु¥याएका छन् । यस हिसाबले मानवअधिकारको दृष्टिले पनि अन्तर्राष्ट्रिय विद्यार्थीलाई तिमीहरु जेसुकै गर भन्न मिल्दैन । प्रधानमन्त्रीको अभिव्यक्ति दुखदायी छ । लेबरहरुले कम्तीमा अस्थायी रुपमा भए पनि विद्यार्थीलाई यहाँको नागरिकसरह सुविधा दिनुपर्छ भनिरहेको छ । प्रतिपक्षीको कुरा सत्ताधारीले सुनिरहेका छैनन् । तर उनीहरुले एक वर्षका लागि खाने बस्ने ग्यारेन्टी भनेर आएका हुन् भनेर सरकार पन्छिदैछ । काम गर्ने समय बढाएको छ, एक वर्ष हुनेलाई सुपरनेशन झिकेर चलाउन दिएको छ । यो संकटमा अत्यन्तै नराम्रो कुरा हो । नेपालले मात्र होइन, भारत, पाकिस्तान, चीन, इन्डोनेसियनलगायत सबैले अध्यागमन मन्त्रीलाई रिर्पोट दिएको छ । यी कुरा सरकारले सुनेको छैन ।

प्रधानमन्त्रीले प्रयोग गरेको शब्द राम्रो सुनिएन
अशोक केसी, पूर्वसंयोजक, साउथ अस्ट्रेलिया
प्रधानमन्त्रीले प्रश्नउत्तरमा मात्र त्यस्तो अभिव्यक्ति आएको हो, सरकारले हाम्रो नीति यो हो भनेका छैनन्् । यस्तो अभिव्यक्ति नदिएको भए पनि हुन्थ्यो । अन्य कुरालाई छोड्ने हो भने आफ्ना नागरिकलागि प्रधानमन्त्रीले राम्रो अभिव्यक्ति दिएका छन् । तर आर्थिक योगदान पु¥याएको उद्योगलाई उनले बेवास्ता गरेजस्तो गरी प्रयोग गरेको शब्द राम्रो सुनिएन । यहीको नागरिक प्राप्त गरिसकेका हामीलाई नै भनेजस्तो महसुस भयो । विद्यार्थीलाई केही दिन पाए हुन्थ्यो भन्ने हामीलाई प्रधानमन्त्रीले त्यसो नभनेको भए हुन्थ्यो जस्तो लाग्यो । यसले नराम्रो सन्देश गएको छ । त्यसकारण अब हामी अलिकति चनाखो बन्नुपर्छ भन्ने लाग्यो ।

अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रधानमन्त्रीले अवहेलना गरे
सुजन अधिकारी, युवा नेता, साउथ अस्ट्रेलिया
कोरोना भाइरसले कसैलाई छोडेको छैन, धेरैले जागीर गुमाएका छन् । विशेषतः विद्यार्थीहरुले जागीर गुमाएका छन् । सरकारले आफ्ना नागरिकलाई सुरक्षित गरेका छन्, त्यो एकदमै राम्रो हो । विद्यार्थीहरु हामी आफै गर्न सक्छौं भनेर यहाँ आएका हौं, गरी पनि रहेका हौं । विद्यार्थीलाई २० घन्टा काम गर्ने अधिकार थियो, विद्यार्थीले काम गर्दा कर तिरेकै हुन्छ । संसारभरिकै विद्यार्थी छन् यहाँ । उनीहरुलाई कुनै सहयोग छैन । प्रधानमन्त्रीको भनाइलाई हामी सम्मान गछौं, तर उहाँले एकातिर मात्र हेर्नुभयो । अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रधानमन्त्रीले अवहेलना गर्नुभयो । यो अन्योल कहिलेसम्म हुन्छ भन्ने थाहा छैन ।

 

शैक्षिक उद्योगमा अवरोध
गोबा कटुवाल, पूर्वअध्यक्ष एनआरएनए अस्ट्रेलिया
जुनसुकै देशले आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ, अस्ट्रेलियामा पनि त्यही भयो । यहाँको नागरिकका हिसाबले हेर्ने हो भने प्रधानमन्त्रीको अभिव्यक्ति ठीक छ । प्रवासीको नाताले हेरियो भने यहाँको अर्थतन्त्रमा विद्यार्थीको ठूलो योगदान छ । यस्तो ठूलो समस्याका बेला उनीहरुका लागि पनि राहतको प्याकेज आएको भए राम्रो हुन्थ्यो । यसले शैक्षिक उद्योगमा राम्रो सन्देश जान्थ्यो । पछिका लागि राम्रो हुन्थ्यो, धेरैभन्दा धेरै विद्यार्थीले भविष्यमा अस्ट्रेलियालाई रोज्थे । त्यो अवसर प्रधानमन्त्रीको अभिव्यक्तिले गुमाइसकेको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थी अहिलेको अवस्थामा घर फर्किने अवस्थामा छैनन् । घर फर्किने वातावरण नबनेसम्म के कस्ता सहयोग गर्न सकिन्छ त्यसबारेमा सरकारले सहयोगको प्याकेज ल्याउनुपर्छ । प्रतिपक्षी दल लेबर पार्टीले यस विषयमा वक्तव्य आइसकेको छ । त्यसमा धेरैले लबिङ गरिसकेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्ति बढाइचढाइ गरियो
भूमा लिम्बू, एनआरएनए आईसीसी महिला को–अर्डिनेटर
अति नै कठिन भयो भने जाउ नै भन्छ होला, तर, आफै काम गरेर बाँच्न सक्नेलाई घर फिर्ता जाउ भनेजस्तो लागेन । प्रधानमन्त्रीको अभिव्यक्तिलाई सञ्चारमाध्यमले बढाइचढाइ गरेजस्तो लाग्यो । एउटा बाक्य पाँचजनाले फरक तरिकाले बुझ्न सक्छन्, तर सञ्चारमाध्यमले उनको भनाइलाई बढाइचढाइ गरेका छन् । आफ्ना नागरिकलाई छोडेर अरुलाई सहुलियत संसारमा अरु कसैले दिन्छ भन्ने मलाई लाग्दैन । एक वर्ष काम गरिसकेकाहरुलाई राम्रै व्यवस्था गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर बहस गरिराख्नुपर्छ भन्ने लाग्दैन । देशको मूल आयस्रोत भएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर जा भन्छ जस्तो लाग्दैन ।

(तस्बीरः च्यानल ९ लाइभ)