एनआरएनए अष्ट्रेलियाद्वारा १३ नेपाली विद्यार्थीहरुलाई एकाडमिक एक्सिलेन्स अवार्डद्वारा सम्मान

तक्दीर अधिकारी

सिड्नी । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको बार्षिक साधारण सभा तथा एकाडमिक एक्सिलेन्स अवार्ड हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएकोे छ । एनआरएनए अष्ट्रेलियाका अनुसार मक्वारी यूनिभर्सिटीमा अध्ययनरत सुवास अधिकारी, २०१९ यूनिभर्सिटी अफ क्विन्सल्याण्डबाट पिएचडी गरेकी जोनु प्रधान तथा २०२० मा यूनिभर्सिटी अफ टेक्नोलोजीबाट पिएचडी गरेकी सुवेक्षा बस्नेत, ग्रिफीट यूनिभर्सिटीबाट पिएचडी गरेकी शिखा कार्की, न्यू साउथ वेल्स र सिड्नी विश्वविद्यालयमा अध्ययनरत रन्जना पिया, आरएमआइटी यूनिभर्सिटीबाट पिएचडी गरेका असिम पन्तले पिएचडी तर्फको एक्सिलेन्स अवार्ड पाएका छन् । त्यस्तै सिक्यिू यूनिभर्सिटीमा अध्ययन गरेका प्रिन्स भण्डारी, लाट्रोभ यूनिभर्सिटीमा अध्ययन गरेका सुवास गौतम, डेकिन यूनिभर्सिटीमा पिएचडी अध्ययनरत प्रतिक भण्डारीले स्नातकोत्तर तहको अवार्ड पाएका छन् । एडिटकर्न यूनिभर्सिटीमा अध्ययन गरेकी रश्मिला श्रेष्ठले व्याचलर तर्फको तथा सिर्जकल नर्सिङ्ग पढीरहेका मनिश लामिछानेले भेट तर्फको अवार्ड पाए । यूनिभर्सिटी अफ क्विन्सल्याण्डमा पिएचडी गरेका भष्करमणी अधिकारीले इन्टरनेशनल स्टुडेन्ट एक्सिलेन्स अवार्ड सम्मानित भएका छन् । अष्ट्रेलियन नेशनल यूनिभर्सिटीबाट अध्ययन गरेकी डा. स्लेष्मा अमात्य एनआरएनए अष्ट्रेलिया प्रेसिडेन्ट एक्सिलेन्स अवार्ड उमन इन साइन्स अवार्डबाट सम्मानित भएकी छन् ।

अष्ट्रेलियामा अध्ययन गरि विज्ञता हासिल गर्ने तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने गरी यस प्रकारको अवार्ड प्रदान गरिएको भएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले जानकारी दिए । संस्थाले हरेक बर्ष एक एक अवार्ड प्रदान गर्दै आएको थियो । यस अघि व्यवसायीहरुको लागि कम्युनिटी अवार्ड, प्रदान गर्दै आइएको थियो भने यस बर्ष पहिलो पटक एकाडमिक एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले प्रत्येक बर्ष सफल नेपाली व्यवसायहरु लाई ” बिजनेस एचिभमेन्ट ” दिदै आएको भने यस बर्षदेखी हरेक दुई बर्षमा विद्यार्थीहरुलाई पहिलो पटक यस प्रकारको अवार्ड दिइएको हो ।
एनआरएनए अष्ट्रेलियाले विद्यार्थीले पाएको एकिकृत जिपिए, अष्ट्रेलियन समुदायमा उनीहरुको प्रभाव, समुदायमा उनीहरुले गरेको स्वयंसेवामूलक काम, सामुदायिक संघसंस्थाको प्रतिनिधित्व, खेलकूद, आर्ट तथा सांस्कृतिक प्रतियोगीताहरुमा गरेका उपलब्धिहरुको आधारमा विजेता घोषणा गरेको छ । स्नातकोत्तर तथा पिएचडी लेवलको अवार्डमा उनीहरुले लेखेका शोधपत्रहरु, लेखहरु, व्यवसायिक संस्था तथा विभिन्न समारोहमा उनीहरुको अनुसन्धानले पाएको मान्यता अथवा सम्मान, तथा उनीहरुका सिर्जनात्मक कुराहरुलाई पनि मूल्याङ्कन गरिएको थियो ।

प्रोफेसर बेनु अधिकारीको अध्यक्षतामा प्रो. प्रेम क्षेत्री, डा. मम विश्वकर्मा, डा. प्रज्ञा गर्ताेला,र डा. जोनु प्रधान सदस्य रहेको मूल्याङ्कन समितिले अवार्डमा सामेल हुन चाहेका व्यक्तिहरुरुको मूल्याङ्कन गरेको थियो । साधारण सभाको उदघाटन सत्रमा गैरआवासीय नेपाली संघ एनआरएनएका प्रमुख संरक्षक शेष घलेले महामारीको समयमा एनआरएनए अष्ट्रेलियाले नेपाली समूदाय र विद्यार्थीलाई गरेको सहयोग अनुकरणीय भएकोे बताए । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले एनआरएनए अष्ट्रेलियाले महामारीको समयमा गरेका कल्याणकारी कामहरुमा सहयात्री बन्न पाएकोमा गर्व लागेको भन्दै आगामी दिनमा संस्थाको दीर्घकालिन हितमा केन्द्रित हुन आग्रह गरे ।
एनआरएनए आईसिसीका अध्यक्ष कुमार पन्तले महामारीको समयमा लाखौँ नेपाली हजारौँ विद्यार्थी प्रभावित भएको भन्दै उनीहरुको निम्ती पनि जुट्ने बेला आएकोे बताए । उद्घाटन सत्रमा आइसीसी उपाध्यक्ष मन केसी, महिला उपाध्यक्ष रवीना थापा लगायते बोलेका थिए।  एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कँडेलले अष्ट्रेलियामा रहेका नेपाली समूदाय मात्र नभएर स्वदेशका सबै नेपालीको हकहितको निम्ती एनआरएनए लडिरहने बताए ।