सिड्नी । अष्ट्रेलिया अध्ययन गर्न आएका एक नेपाली युवाको पौडी खेल्ने क्रममा डुबेर निधन भएको छ । सोमबार विहान १० बजेतिर वाटरमोल्ला दहमा डाइभ गरी पौडी खेल्ने क्रममा डुबेर २४ बर्षीय सचेत बिमलीको मृत्यु भएको हो ।
सिड्नीको अर्वनमा दिदीसँगै बसोबास गर्दै आएका सचेत सोमबार विहान एकजना साथीसंग पौडी खेल्न आएका थिए । उनीसँगै फाल हालेकी अर्की एकजना साथि पौडिएर बाहिर आएपनि बिमली भने उत्रन सकेनन् । उनी डुबेको आधा घण्टामा उद्धार टोली पुगेको थियो । पुलिस, प्यारामेडिक्स लगायतको टोलीले बिमलीको शरीर सात मिटरको गहिराईमा करिब एक घण्टामा फेला पारेको सचेतका नजिकका नातेदार कृष्ण बिमलीले जानकारी दिए ।
उक्त दहमा चट्टानहरु भएको कारण चेतावनी संकेत पनि राखिएका छन् । सन् २०१९ को जुलाईमा अष्ट्रेलिया आएका बिमली यहाँको मक्वारी विश्वविद्यालयमा आइटीअन्तर्गत मास्टर्स डिग्री पढिरहेका थिए। झापा पुख्यौली घर भएका बिमलीको परिवार काठमाडौँको बानेश्वर बस्दै आएको उनले बताए ।
एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक देव गुरुङले परिवारको आग्रह अनुसार सचेतको शव नेपाल पठाउने तयारी भइरहेको छ । ‘यस घटनाले निकै स्तव्ध बनायो’ उनले भने, ‘परिवारसंग कुराकानी गरेर सचेतको शव नेपाल पठाउने तयारी भइरहेको छ।’घट्नाले मर्माहत भएको भन्दै एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले यसप्रकारका सम्भावित घटनाहरुबारे सचेतना कार्यक्रम गरिरहेको भएपनि सचेत विमलीलाई बचाउन नसकेको बताए । ‘यस घटनाले हामीले अझै सजग बनाएको छ, आगामी दिनमा यहाँ आउने नेपालीहरुले गर्नुपर्ने सुरक्षा सावधानीको विषयमा चलाखी बढाउन हामी अघि बढ्नेछौँ।’ उनले भने ।
सचेतनाको अभाव
साउथ सिड्नी स्थित रोयल नेशनल पार्कमा रहेको यस दहमा विगत ५ बर्षमा ६ जनाको डुबेर मृत्यु भएको छ । अष्ट्रेलियामा बर्षेनी हजारौँ नेपाली विद्यार्थीहरु अध्ययनको निम्ती आउने गरेका छन् । यसअघि पनि नेपालीहरुले पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाउनुपरेको अवस्था छ । यसको कारण सचेतनाको कमी भएको जानकारहरु बताउँछन् । राम्रोसंग पौडी नसिक्दै बढी साहसिक हुन खोज्नु दुखःद भएको यहाँ रहेका नेपाली अगुवाहरुले बताउने गरेका छन् ।
यहाँका केही नेपाली संघसंस्थाहले विभिन्न चरणमा अष्ट्रेलिया आएपछि गर्ने गतिविधिहरुमा ध्यान दिनुपर्ने कुरामा कार्यक्रमहरु त चलाइरहेका छन्, तरपनि प्रभावकारी भएको रैनछ कि भन्ने अहिले महशुस भएकोे अगुवाहरुको भनाई छ ।
यसप्रकारका दुखःद घट्ना दोेहोरिन नदिनको लागि यहाँ रहेको एनआरएनए, दूतावास, एजुकेशन कसन्लटेन्सी देखि नेपाली संघसंस्था अगुवाहरुले विशेष प्राथमिकताका कार्यक्रमहरु चलाउन जरुरी रहेको छ । त्यतिमात्र नभएर अभिभावकहरुले पनि आफ्ना छोेराछोरीले गर्ने क्रियाकलापमा केही निगरानी तथा चनाखो बनाउनु पनि जरुरी छ ।






