साढे तीन बर्षपछि साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटायो

एजेन्सी । साउदी अरबले कतारमाथि लगाएको साढे तीन बर्ष लामो नाकाबन्दी हटाउने भएको छ ।

कतारले आतङ्कवादलाई प्रश्रय दिएको भन्दै साउदी अरबलगायतका मुलुकले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरबले सीमा खुला गरेको हो ।

सन् २०१७ जुनदेखि साउदी अरबसहित, युएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्क विच्छेद गरेका थिए ।

कतारले इरानसँग सम्बन्ध राखी आतङ्कवादलाई बढावा दिएको ती मुलुकको आरोप थियो । गल्फ कोअपरेशन काउन्सिल जिसीसीको बैठकको पूर्वसन्ध्यामा साउदी अरबले यो निर्णय गरेको हो । कतारका विदेशमन्त्रीले साउदी अरबले हवाई र जल सम्पर्क पनि पुनः स्थापित गर्ने जनाएका छन् ।

साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

मङ्गलवार साउदी अरबमा हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि यो कदम चालिएको हो।

यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए।

सानो भए पनि निकै धनी अरब मुलुक कतारले जिहादी आतङ्कवादीहरूलाई समर्थन गरेको आरोपको सधैँ खण्डन गर्ने गरेको छ।