बेलायतमा तेस्रो चरणको देशव्यापी लकडाउन घोषणा

लण्डन । प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा तेस्रो चरणकोे लकडाउन घोषणा गरेका छन् । कोरोनाभाइरस महामारीको दोस्रो लहर, त्यसैमाथि नयाँ स्वरुपको संक्रमण तिव्र गतिमा फैलन थालेसँगै तेस्रो चरणको लकडाउन घोषणा गरिएको हो । सरकारको घोेषणासँगै अब बेलायतका नागरिकहरु सबै घरभित्रै बस्नुपर्ने भएको छ । अत्यावश्क आवश्कता भएको अवस्थामा स्वीकृति लिएकाहरु मात्रै घर बाहिर निस्कन पाउने छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रधानमन्त्री जोन्सनले नयाँ लकडाउन आउँदो फेब्रुअरीको मध्यसम्म कायम रहने सक्ने बताए । मंगलबारदेखि सबै विद्यालय तथा कलेजहरु बन्द हुनेछन् र पढाई अनलाईन मार्फत मात्रै हुनेछ । त्यस्तै परिक्षाहरु पनि रद्ध गरिएका छन् । त्यस्तै होटल, रेष्टुरेन्ट, पव बन्द हुनेछन्, टेकअवेलाई पनि अनुमति नदिइने भएको छ ।

कोरोना भाइरस संक्रमणको दर बढेको तथा बिरामीको संख्या थपिँदै गएको अवस्थामा आउँदो हप्ताहरु निकै कठिन हुने प्रधानमन्त्री जोन्सनले बताए । आउँदो महिनाको मध्यसम्ममा प्राथमिकताको पहिलो चार समूहमा रहेकाहरुलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज दिइने प्रधानमन्त्री जोन्सनले उल्लेख गरेका छन । उनका अनुसार हेरचाह केन्द्रमा रहेका व्यक्ति, ७० वर्ष नाघेका वृद्धवृद्धा, सामाजिक र स्वास्थ्य क्षेत्रमा अग्रस्थानमा रहेर कार्यरत कर्मचारी र जोखिमयुक्त मानिएका व्यक्तिलाई खोपको पहिलो डोज दिइने छ ।

यसअघि स्कटल्याण्डमा घरमै बस्नु पर्ने निर्देशन जारी भएको थियो । यस्तै वेल्सले जनवरी १८ सम्म विद्यालय तथा कलेज बन्द हुने जनाएको छ । नर्दन आयरल्याण्डमा अनलाईन कक्षालाई थप केही समय बढाउने भएको छ । बेलायतमा परिवर्तित स्वरुपको नयाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नयाँ लकडाउन लागु भएको हो ।

यसअघि गत नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म लागू लकडाउन खुलाइएसंगै इंग्ल्याण्डमा संक्रमणको आधारमा क्षेत्रगत प्रतिवन्धहरु लगाइएको थियो । पहिलो चरणमा गत वर्षको मार्च २३ बाट करिब तीन महिना लगाइएको लकडाउन दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्तासम्म लगाइएको थियो । हाल नयाँ स्वरुपको भाइरस फैलिएसँगैै बेलायतमा दैनिक ५० हजार भन्दा धेरै मानिसहरु संक्रमित भइरहेका छन् ।

हालसम्म अहिलेसम्म २७ लाखभन्दा बढी मानसिमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ७५ हजार संक्रमितको मृत्यु भएको छ ।