बेलायतमा हुने पृथ्वी जयन्तीमा डा. सुरेन्द्र केसी, डा.जंगमान गुरुङ र निगम हुमागाईंले सम्बोधन गर्ने

लण्डन । बेलायतमा श्री ५ पृथ्वीनारायण शाह को २९९ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस यस पटक भर्चुअल रुपमै भव्य बनाउने प्रयास भइरहेको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजना तथा लण्डन नेपाल न्यूजको मिडिया पार्टनरसिपमा भर्चुअल माध्यमबाटै मनाउन लागिएको पृथ्वी जयन्ती कार्यक्रममा नेपालबाट प्रतिष्ठित, बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरु सहभागि हुने भएका छन् ।

संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले यसपटकको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डाक्टर जंगमान गुरुङ, लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक समेत रहेका नेपालको कम्युनिष्ट आन्दोलनको विषयमा विद्यावारिधि गरेका राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी र नागरिक समूह नेपालका अध्यक्ष निगम हुमगाइ सहभागि हुने जानकारी दिए ।

वितगका बर्षहरुमा जस्तोगरी भौतिक रुपमै भव्य बनाउन नसकिएपनि उच्चस्तरीय व्यक्तिहरुको सहभागितामा यस बर्षको अनलाइन सेलिव्रसन पनि विशेष बनाउने प्रयास भइरहेको उनले बताए । विश्वव्यापी फैलिएको कोरोनाभाइरस महामारीको कारण कार्यक्रम प्रभावित भएको हो ।

आगामी जनवरी ११ अर्थात पुस २७ गते बेलायतको समय विहान ११ बजे तथा नेपाली समय बेलुका ५ बजे गरिने उक्त कार्यक्रमको लण्डन नेपाल न्यूजको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण समेत गरिने छ ।