गोर्खा वारियर २ः घाइते भएका हिरो सेटमा फर्किए, सुचारु भयो सुटिङ्ग

काठमाडौं । बीर गोर्खालीको बहादुरी प्रदर्शन गर्नेगरी तयार गर्न लागिएको नेपाली कथानक चलचित्र गोर्खा वारियर २ को सुटिङ्ग सुचारु भएको हो ।

छायांकनको क्रममा भीरबाट खसेर गम्भिर घाइते भएका अभिनेता रितेश चाम्स सुटिङ सेटमा फर्किएपछि छाँयाकंन सोमबारदेखि सुचारु भएको हो ।

गतसाता फिल्मका मुख्य अभिनेता रितेश चाम्स सिन्धुलीमा भइरहेको छायांकनको क्रममा भीरबाट खसेका थिए । उनको घाँटीमा गहिरो चोट लागेको थियो । घाउ केही निको भएपछि उनले सोमबारदेखि नै सुटिङ सेटमा गएका हुन् ।

निर्देशक मिलन चाम्सका अनुसार मेकअपले अभिनेता चाम्सको घाँटीको घाउलाई पुरेर सुटिङ सुचारु गरिएको हो । सिन्धुलीको सेड्युल यसैसाता सकिने भएपनि रितेश घाइते भएपछि ढिला भएको थियो ।

आगामी साता छायांकन दमौलीमा हुने भएको छ । सुटिङ सेटमा फर्कनुअघि अभिनेता चाम्सले नयाँ जीवन पाएको भन्दै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

‘हजुरहरुको आशिर्वादले गर्दा स्वास्थ्यमा सुधार भई सुटिङको काममा फर्किएको छु’ उनले लेखेका छन्, ‘आफूले के पाएँ भन्दा पनि के दिन सकेँ भन्ने कुरा महत्वपूर्ण हुन्छ भन्ने मेरो मान्यता हो ।’

गोर्खाली आफैमा गैरवगाथाले कोरिएको इतिहासले बनिएको नाम हो र गोर्खालीको कथामा चलचित्र बन्नु आफैमा चुनौतीपूर्ण रहेको समेत उनले बताएका छन् ।

चलचित्रमा गोर्खालीको पात्रलाइ न्याय दिन चुनौती रहेपनि न्यायदिन सकुँ भनेर कोसिसमै रहेको समेत उनले बताएका छन् ।

यो पनि – मिलन चाम्सको गोर्खाली सेनाको वीरतामा आधारित ‘गोर्खा वारियर २’ छायांकन हुदै