मिलन चाम्सको गोर्खाली सेनाको वीरतामा आधारित ‘गोर्खा वारियर २’ छायांकन हुदै

लण्डन । बेलायतको सैनिकमा भर्ती भई सेवा गरेका नेपाली वीर गोर्खाली सैनिकको वीरताको गाथा देखाउने नेपाली चलचित्र ‘गोर्खा वारियार २’ निर्माण गरिने भएको छ ।

मंगलबार नेपालको राजधानी काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसनमा एक कार्यक्रम गर्दै उक्त चलचित्र निर्माण घोषणा गरिएको हो ।

उक्त कार्यक्रममा मृतक गोर्खाली सेनाहरुलाई श्रद्धाञ्जली स्वरुप सशस्त्र प्रहरीको एक टुकुडीले विगुल फुकेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गर्दैछन् । मिलन चाम्स स्वयम् नै निर्माता रहेको चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू रहेका छन् ।

चलचित्रमा रेविका गुरुङ, विजय लामा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रेअर राई, सारा राई, कविता आले, भुवन सिंह राई र विरुप घले लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रितेश चाम्सले डेब्यु गर्दै छन् ।

मिलन चाम्सले तयार पारेको कथामा पटकथा तथा संवादभने गिरीराज घिमिरेले लेखेका हुन् । उनै घिमिरेले चलचित्रमा सहनिर्देशन गर्दै छन् । चलचित्रमा सुदिप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन र हिमाल केसीको द्धन्द्ध निर्देशन रहने छ । सशस्त्र प्रहरी प्रमुख सैलेन्द्र खनालले लेखेको गीतमा एलिश कार्कीको संगीत र राजेश पायल राईको स्वर रहनेछ ।

भाग एक बन्नु अगाडिनै छायांकन गर्न लागिएको चलचित्रलाई मलेसिया, बेलायत र नेपालको सोलुखुम्बुमा छायांकन गरिने छ । चलचित्रको पहिलो भागको लागि ठुलो बजेट चाहिने हुँदा दोश्रो भागलाई पहिला निर्माण गर्न लागेको निर्देशक चाम्सले जानकारी दिएका छन् ।

युद्धमा ज्यान गुमाएका गोर्खाली सेनाको कथालाई समावेश गरेर बनाइएको चलचित्रमा गोर्खाली वीरहरुको वीरताको कहानी देख्न सकिनेछ ।

बेलायतमा २ सय बर्ष पुरानो वीर गोर्खालीको इतिहासलाई मध्यनजर गर्दै उनीहरुको साहस र वीरताको गाथा उक्त चलचित्रमा हुने निर्माणकर्ताले जनाएका छन् ।

उक्त चलचित्रले नेपाली वीर गोर्खालीको शान र इज्जत अझै बढ्ने र देशविदेशमा झनै प्रचार हुने आशा राखिएको छ । यता नेपाल चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बूले नेपाली गोर्खाहरुको साहसिक कथालाई चलचित्रमा प्रस्तुत हुने खबरले खुशी लागेको बताइन् ।

‘यो हामी सबै गोर्खालीको शानको विषय हुनेछ भन्ने मैले आशा गरेकी छु,’ लण्डन नेपाल न्यूजसँग लिम्बूले भनिन्, ‘निर्माणकर्ताले रोजेको कथाबस्तुले चलचित्रलाई उच्च सफलता प्रदान गर्नेछ ।’