सिड्नी । अस्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारहरुको साझा संस्था अस्ट्रेलियन नेप्लिज जोर्नालिष्ट एशोशियसन (एन्जा)ले व्यवसायिक पत्रकारिता सगैं अस्ट्रेलियामा रहेका नेपाली समुदायहरुलाई एकताबद्ध गर्न ३ बुँदे घोषणा पत्र जारी गरेको छ ।
नोभेम्बर ४ र ५ तारिखका दिन तास्मानियाको होबार्टस्थिती भाइभ होटलमा सम्पन्न एन्जाको दोस्रो महाधिवेशन पछि निर्वाचित कार्यसमितिको पहिलो बैठकले ३ बुँदे होबार्ट घोषणा पत्र जारी गरेको हो ।
व्यवसायिक पत्रकारिताका माध्यमबाट सत्य, तथ्य र निष्पक्ष सुचना प्रवाह गरि अष्ट्रेलियामा बढ्दो नेपाली समाजलाई एकसूत्रमा बाध्ने प्रकृयामा टेवा पुर्याउन संस्थाको महत्वपुणर् उद्धेश्य रहेको भन्दै एन्जाले विदेशमा गरिने पत्रकारिताको स्तर उकास्न, समाजको अपेक्षा पुरा हुने गरि समाचारीय समाग्री प्रकाशन र प्रशारण गर्न, सक्रिय नेपाली पत्रकारहरुको हकहित र वृत्तिविकासमा टेवा दिन तथा सामाजिक संघसंस्था तथा राज्य र संघीय तहका नियकाहरुसँग पुलको काम गर्न घोषणा पत्र जारी गरिएको जनाएको छ ।
एन्जाले जारी गरेको घोषणा पत्रमा व्यवसायिक पत्रकारितासगैं आचारसहिंता तथा कानुनको पालना गर्दै पत्रकारिताको मर्मलाई आत्मसाथ गरी सत्यतथ्य सुचना एवम् समाचार सम्प्रेषण गरी समाज निर्माणमा योगदान दिन प्रतिबद्ध रहने बताईएको छ । पत्रकारको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यशाला एवम् प्रशिक्षणहरु सञ्चालन गर्ने र नेपाली समाजलाई पत्रकारितामार्फत एकताको सुत्रमा बाध्ने यात्रामा सहकार्य गर्न अपिल गर्ने समेत एन्जाको घोषणा पत्रमा उल्लेख छ ।
३ बुँदामा यस्तो छ होबार्ट घोषणा २०२२
१. पत्रकारिता समाजको अभिन्न अंग हो । व्यवसायिक पत्रकारिताले समाज निमार्णमा महत्वपूर्ण भूमिका खेल्दछ । अष्ट्रेलियामा नेपाली भाषाको पत्रकारितालाई थप व्यवसायिक, निष्पक्ष र तथ्यपरक बनाउनका लागि हामी अष्ट्रेलियन प्रेस काउन्सिलले निर्धारण गरेको आचारसंहिता र यहाँको कानूनी सिमाहरुलाई अक्षरस पालना गर्न कटिबद्ध छौं । पत्रकारिता समाजभन्दा बाहिर रहन सक्दैन भन्ने तथ्यलाई आत्मसाथ गर्दै असल, सूसुचित र एकताबद्ध समाज निर्माणमा योगदान दिन हामी व्यवसायिक पत्रकारितालाई जोड दिनेछौं ।
२. विदेशमा पनि नेपालीहरुका विभिन्न संघसंस्थाहरु सक्रिय छन् र त्यस्ता संगठनहरुको स्वतन्त्रता प्रति उत्तिकै सम्मान छ । पत्रकारितालाई व्यवसायिक बनाउने पाटोबाट हेर्दा, हामीले तयार पार्ने समाचारिय सामाग्रीहरु कुनै पनि राजनैतिक दल, क्षेत्र, वर्ग, जाती, धर्म, वर्ण र लिंगबाट निर्दिष्ट नभई, सिंगो नेपाल र नेपालीपनलाई उकास्नका लागि केन्द्रित रहनेछ । उल्लेखित विशेषताका आधारमा हामी हाम्रो पत्रकारितालाई प्रभावमुक्त राख्ने समेत प्रतिवद्धता गर्न चाहान्छौ ।
३. पत्रकारिता भनेको नियमित घटनाक्रमको जिम्मेववार अभिव्यक्ति हो । समाज विकासको तिब्रतासंगै पत्रकारितामा समेत प्राविधिक र दक्षताको खाचो टड्कारो बन्ने गरेको छ । समयको रफ्तारसंगै प्राविधिक र बद्लिदो समाजको भावना अनुसार दक्षता वृद्धी गर्न नसके, पत्रकारिताले समाजका आवश्यकताहरु पुरा गर्न सक्दैन । त्यसैले अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुलाई समयअनुकुल दक्षता वृद्धी गर्न राज्यदेखि केन्द्रसम्मै विभिन्न प्रशिक्षण र कार्यशालाहरु गरिने समेत प्रतिबद्धता गर्न चाहान्छौं । जसका लागि राज्यदेखि संघीय तहसम्म रहेका सरकारी र गैरसरकारी संघसंस्थासंग सहकार्य गरि आवश्यक प्रशिक्षणहरुको व्यवस्था गर्नेछौं । समाजको अपेक्षा पुरा गर्न समेत हामी सामाजिक व्यक्ति र संघसंस्थासंग समेत छलफल र अन्तरक्रिया गर्नेछौं ।
विस्तृतमा पढ्नुहोस्








