लन्डन। नेपाल पर्यटन बोर्ड तथा लण्डनस्थित नेपाली राजदूतावासद्वारा आयोजित नेपालको पर्यटन प्रवर्द्धनको उद्धेश्यसहित दूतावासमा एक कार्यक्रम सम्पन्न भएको छ।
बेलायत सरकारका अधिकारी, व्यापारिक समुदायका प्रतिनिधि र पर्यटन तथा ट्राभल व्यवसायी समेतको सहभागितामा मंगलबार बेलुका आयोजित ‘नेपाल इभिनिङ’ मा नेपालको पर्यटनका सम्भावनाहरुबारे एक कार्यक्रम सम्पन्न भएको हो।
लन्डनमा जारी ‘वर्ल्ड ट्राभल मार्केट’मा भाग लिन आएका नेपाल सरकार, पर्यटन बोर्ड र ट्राभल व्यवसायीसहितका डेलिगेटहरु पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको पर्यटन प्रवर्द्धनको लागि बेलायतबाट थप सहभागिता र सहकार्यको लागि आव्हान गरे।
अहिले नेपालको पर्यटन बजार कोभिड महामारी पूर्वको तुलनामा ७० प्रतिशत रिकभर भएको उनले जानकारी गराए।
नेपाल पर्यटन बोर्डका सिइओ डा धनञ्जय रेग्मीले कोभिड महामारीपछिको विषम परिस्थितिमा पनि बेलायतबाट उल्लेखनीय पर्यटकहरु नेपाल गइरहेकोमा प्रसन्नता व्यक्त गरे।
नेपालसँग रहेको पर्यटनको अथाह सम्भावना अझै पनि पूर्णत:सदुपयोग हुन नसकेको भन्दै उनले पर्यटन बोर्डले हरेक पर्यटकीय गन्तव्यलाई विश्वमाझ चिनाउने पहल गरिरहेको सुनाए।
नेपालको प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यहरुबारे रेग्मीले एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत् जानकारी गराए।
त्यसअवसरमा सगरमाथासहितका नेपालका कयौं उच्च हिमालहरु आरोहण गरिसकेका बेलायती पर्वतारोही सर क्रिस बोनिङटनले नेपालको विशिष्ट प्राकृतिक सौन्दर्य र सुन्दर हिमालहरुसंगै नेपालीहरुको न्यानो आतिथ्य पनि सम्झालायक रहेको बताए।
सन् १९६१ मा अन्नपूर्ण र १९८५ मा सगरमाथा आरोहण गरेका उनले विगतको तुलनामा अहिले पूर्वाधार विकासको कारण नेपालको पर्वतारोहण धेरै सहज बनेको अनुभव सुनाए।
त्यसैगरी, ८ हजार मिटर उचाइका संसारका सबै १४ हिमाल आरोहण गर्ने किर्तिमानी बेलायती आरोही एलान हिंक्स ‘ओबिई’ ले नेपालका हिमाल आरोहण गर्दाको आफ्नो अनुभव पावरपोइन्ट प्रिजेन्टेसनमार्फत् शेयर गरे।
झन्डै ४ दशकअघि पहिलोपटक नेपाल पुगेर मनास्लु आरोहण गरेदेखि नै नेपालसँग प्रेममा परेको सुनाउँदै उनले पर्वतारोहण र पदयात्रा दुवैको लागि नेपाल सर्वोत्कृष्ट गन्तव्य रहेको बताए।
दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेको कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट, नेपालको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव राजेन्द्रकुमार केसी, बेलायतका लागि पर्यटन दूत महन्त श्रेष्ठसहित उल्लेख्य बेलायतीहरुको उपस्थिति थियो।
ब्रिटिश तथा नेपाली पर्यटन व्यवसायीहरु तथा नेपाली समुदायका अगुवाहरुको उपस्थिति रहेको कार्यक्रममा बेलायतमै बस्ने नेपाली कलाकारहरु डम्मर सिंह प्रयास, केहर सिंह गुरुङ, ढाकाराम विश्वकर्मा तथा मनोज अन्जानले लोकप्रिय गीत ‘रेशम फिरिरी’ को धून प्रस्तुत गरेका थिए । 



















