सिड्नी । गैर आवासीय नेपाली सघं एनआरएनएका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले यस पटकको १९ नोभेम्बरमा हुने यसवर्षको नेपाल फेस्टिबल सिड्नी विशेष हुने बताएका छन् ।
फेस्टिबलकै विषयमा लण्डन नेपाल न्यूजसगंको कुराकानीमा गुरुङले विगतका अनुभव र यस वर्ष नयाँ ठाउँ तथा नयाँ केही योजनाका साथ अगाडी बढेकाले फेस्टिबल विशेष हुने बताए ।
फेस्टिबलको उद्धेश्य त उही नै हो गुरुङले भने यसपटक धेरै भन्दा धेरै नेपालीलाई समावेश गर्न कार्यक्रम गर्ने स्थल परिवर्तन गरी बुरवूड पार्कमा गर्नेभएका छौं, त्यस्तै स्थानीय कलाकारहरुलाई समेत समाबेश गराएर नेपाल फेस्टिबलको महत्व र विशेषता बारे आम समुदायसम्म जानकारी पुग्ने अपेक्षा छ ।
‘नेपाल फेस्टिबलको प्रमुख उद्धेश्यनै नेपाली कला संस्कृति,भाषा,नेपाली खाना लगायत सिगों नेपाललाई झल्काएर पर्यटन प्रवद्र्धन एवम् नयाँ पुस्तामा समेत यसको पहिचान कायम गर्नु हो उनले भने -नेपाल फेस्टिबलले सामान्य उद्धेश्य बोकेको छैन यसले हाम्रो पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वास छ ।’
यस पटकको नेपाल फेस्टिबलको नारा “वान कन्ट्री म्यानि स्टोरीज“जस्तै नेपालको भौगोलिक विविधतासगैं रहेको सांस्कृतिक, सामाजिक एवम् आर्थिक विविधतालाई समेत यसले झल्काउने उनले बताए ।
नेपाल फेस्टिबलमा तपाईँ आफैलाई चाहिँ विशेष के लाग्छ भन्ने प्रश्नमा गुरुङले भने -‘समग्र फेस्टिवलनै नेपाल बिशेष हुने हुँदा बिशेष लाग्ने कुरा यो त्यों भन्ने त हुँदैन, तैपनि नेपाली संस्कृति, नेपाली खाना र नेपाललाई चिनाउने नेपालीहरु आ- आफ्नो पोशाकमा सजिएर महोत्सबमा उपस्थित हुँदाको क्षण चाहिँ अझै बिशेष लाग्नेगर्छ । जसले गर्दा भर्खर हुर्कदै गरेको दोस्रो पुस्ताहरुमा पनि नेपालीपनको छाप बस्ने कुराले निकै खुसी हुन्छु ।’
उनले फेस्टिबल सम्पन्न गर्न सहयोग गर्ने नेपाली समुदाय लगायत नेपाली राजदूतावास, तथा महावाणिज्य दूतको कार्यालय प्रति आभार व्यक्त गरे । गुरुङले फेस्टिबलमा फुर्सद निकालेर उपस्थित हुन समेत सबैलाई अनुरोध गरेका छन् ।






