नेपाल फेस्टिबलले नेपालको गौरव बोकेको छ : एनआरएनए अस्ट्रेलिया अध्यक्ष गुरुङ

सिड्नी । गैर आवासीय नेपाली सघं एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले नेपाल फेस्टिबल नेपालको गौरव रहेको बताएका छन् ।

१९ नोभेम्बरमा हुँदै गरेको नेपाल फेस्टिबल सिड्नी २०२२ का बारेमा लण्डन नेपाल न्यूजसंगको कुराकानीमा गुरुङले परदेशमा रहेका नेपाली तथा अस्ट्रेलियाकै समुदायबीच नेपालीे संस्कृति, भेषभूषा, नेपाली खाना, बिबिधतामा एकता र सबै नेपालको पहिचान दिने तथा समग्र नेपाललाई अस्ट्रेलियामा झल्काउने गरी यो पर्वकै रुपमा विकसित भएको भन्दै यसले नेपालीकालागि गौरव गर्ने विषय बनेको बताएका हुन् ।

उनले नेपाल फेस्टिबलले विदेशमा जन्मेका नेपाली नयाँ पुस्तालाई हाम्रा संस्कृतिहरु पुस्तानान्तरण गर्न समेत ठुलो मद्धत पुगेको धारणा व्यक्त गरे । गुरुङले नेपाल फेस्टिबल नजिकिँदै गर्दा यसलाई सफल बनाउन सबै नेपाली समुदाय सक्रिय रुपमा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताए ।

विगत कोभिडका कारण झण्डै ४ वर्ष हुन नसकेको नेपाल फेस्टिबल सिड्नी यस वर्ष अझै भव्य हुने अपेक्षा समेत व्यक्त गरे । नेपाल फेस्टिबल सिड्नीबाट कस्तो अपेक्षा राख्नुभएको छ भन्ने प्रश्नमा गुरुङले विगतमा भन्दा अहिले फेस्टिबल सफल बनाउन नेपाली समुदायसगैं यहाँ रहेर व्यवसाय गर्ने विभिन्न सहयोगी हातहरु जोडिएको भन्दै अहिले सोचे भन्दा बढी नै सबैको साथ सहयोग रहेको बताए ।

नेपालका चर्चित राष्ट्रिय कलाकारको प्रस्तुतीसगैं नेपालको पहिचान झल्काउने विभिन्न कला संस्कृतिको प्रस्तुतीले फेस्टिबलले सिगों नेपालको चित्रण गरेको उनको भनाई छ ।

नेपाल फेस्टिबल सुरुवाती चरण र अहिले के कस्तो फरक छ भन्ने लण्डन नेपाल न्यूजको प्रश्नमा गुरुङले सुरुवाती चरणमा भन्दा अहिले विस्तारै अस्ट्रेलियामा नेपाली समुदायको बासोबासी बढिरहनु सुखद पक्ष रहेको भन्दै यससगैं सहयोग र समन्वय गर्ने व्यक्तिहरु पनि बढिरहनु सुखद पक्ष रहेको बताए ।

नेपाल फेस्टिबललाई अझै भव्य बनाउन अघिल्ला कमीकमजोरी सुधार गर्दै नयाँ पुस्तालाई समेत आयोजक र तैयारी समितिमा राखेर कार्यक्रम गर्न सक्नुपर्ने उनको धारणा छ । भविष्यमा नयाँ पुस्ताले पनि फेस्टिबलको गरिमा कायम राखुन भन्नका लागि यस्तो गर्नुपर्ने उनले बताए ।

उनले नेपाल फेस्टिबल सिड्नी भव्य रुपमा सम्पन्न गर्नका लागि सबैको साथ सहयोगको अपेक्षा रहेको भन्दै सबैलाई उपस्थितिका लागि निमन्त्रणा समेत गरे ।