बेलायती प्रधानमन्त्री लिज ट्रसले किन दिइन् ४५ दिनमै पदबाट राजीनामा

लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन् । निर्वाचित भएको दुई महिना नपुग्दै उनले राजीनामा दिएकी हुन् ।

जटिल राजनीतिक तथा आर्थिक संकटबीच लिजले बिहीबार राजीनामा दिएकी हुन् ।

४५ दिन अघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले घोषणा गरे अनुसार काम गर्न नसकिएको भन्दै विभिन्न टीका टिप्पणी भइरहेको थियो । केही दिन यता उनलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजीनामा दिन दबाब दिइरहेका थिए ।

उनले आफू जुन ‘म्यान्डेट’ का साथ निर्वाचित भएको हो त्यसअनुसार जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै राजीनामा दिएको जनाएकी छन् ।

नयाँ प्रधानमन्त्री चयनका लागि कन्जर्भेटिभ पार्टीभित्र नै चुनाव हुने छ । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि लिज नै प्रधानमन्त्री रहनेछिन् । बेलायतको इतिहासमा उनी सबैभन्दा थोरै समय प्रधानमन्त्रीको पदमा बसेर बाहिरिएकी छिन्।