सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले अनाथ तथा अपाङ्ग बालबालिकाहरुको सहयोगार्थ आयोजना गरेको तीज विशेष कार्यक्रमबाट ८३९३.३ डलर आर्थिक सकंलन गरेको छ ।
गत महिना सिड्नीमा सम्पन्न कार्यक्रमबाट सकंलित रकमको मगंलबार सञ्जालका पदाधिकारीहरुबीच बसेको बैठकले आय व्यय सार्वजिनक गरेको छ ।
सार्वजनिक गरिएको आयव्यय विवरण अनुसार आयतर्फ कार्यक्रम सौजन्यबाट २४ हजार ५ सय ६५ डलर र टिकट बिक्रीबाट १२ हजार १ सय ५० डलर गरी जम्मा ३६ हजार ७ सय १५ डलर त्यसैगरी खर्च तर्फ २८ हजार ५ सय १२.३७ डलर भएको संजालले जनाएको छ ।
यस पवित्र कार्यमा सिड्नीमा रहेका झण्डै ३ दर्जन भन्दा बढि व्यवसायिक संस्थाहरू, सामाजिक व्यक्तित्व र विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरुबाट सहयोग प्राप्त भएको सञ्जालका अध्यक्ष मुक्तिबाबु रेग्मीले जानकारी दिए । कार्यक्रम मार्फत सकंलित भई बचत रकम रुपन्देही जिल्लाका स्थानीय तह मार्फत सहजीकरण गरि हस्तान्तरण गरिने उनको भनाई छ ।
रुपन्देही स्थायी घर भई हाल अस्ट्रेलियामा रहेकाहरुको साझा संस्था रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलिया २०१५ सालमा स्थापना भएको हो । समाजले भुकम्प, कोरोना महामारी, आर्थिक अभावका कारण उपचार नपाएका बिरामी, फरक क्षमता भएका बालबालिकाहरु तथा अनाथ र असहाय व्यक्तिलाई सहयोग गर्नुका साथै विभिन्न स्वास्थ्य संस्था, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लगायतका परोपकारी कार्य गर्दै आईरहेको छ ।
परोपकारी कार्यमा तल्लीन संस्थाले विगतका समयमा जस्तै यस वर्ष पनि तीज विशेष कार्यक्रमबाट सकंलित रकम रुपन्देहीका अनाथ तथा अपाङग र असहाय वालवालिकाका लागि प्रदान गरिने सञ्जालका अध्यक्ष पोखरेलले बताए ।






