काठमाडौँ, ८ साउन । सत्ता साझेदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
संसदीय दल र राजनीतिक कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पार्टी कार्यालयका सचिव परमानन्द मेहताले बैठकले पार्टीबाट सरकारमा नेतृत्व गरेका तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको राससलाई जानकारी दिनुभयो । उहाँले पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्रीको राजीनामा पत्र तयार भएको र आइतबारसम्म पत्र प्रधानमन्त्रीलाई बुझाइने बताउनुभयो ।
फोरम लोकतान्त्रिकबाट अध्यक्ष गच्छदार उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री रामजनम चौधरी र स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलम सरकारमा सहभागी हुनुहुन्छ । सो पार्टीबाट १४ जना सांसद व्यवस्थापिक–संसदमा रहेका छन् ।
राप्रपाबाट पनि समर्थन फिर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएको छ ।
पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय चावहिलमा बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
राप्रपाबाट श्रम तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दीपक बोहोरा र वाणिज्य मन्त्रालयको नेतृत्व जयन्त चन्दले सम्हाल्दै आउनुभएको थियो ।
बैठकले व्यवस्थापिका–संसद्मा टेबल गरेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न पार्टीको विधानअनुसार संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।
उक्त पार्टीबाट व्यवस्थापिका–संसदमा १२ जना सांसदले प्रतिनिधित्व गर्नुभएको छ ।






