सिड्नी । पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह अष्ट्रेलिया आउने भएकी छिन् । हिमानी ट्रष्ट अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी अष्ट्रेलिया आउन लागेकी हुन् ।
ट्रष्टले कोष सङ्कलनका लागि अगष्ट १० तारिखमा सिड्नीमा आयोजना गरेको ईभेन्ट्समा उनी सहभागी हुनेछिन् । हिमानी ट्रष्ट नेपालले नेतृत्व गरेको ‘एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट’ लाई सहयोग गर्ने उद्धेश्यले ३ वटा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्न लागिएको र उक्त कार्यक्रममा पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी हुने हिमानी ट्रष्ट अष्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेत कार्कीले जानकारी दिईन् ।
२७ जुलाई बुधवार अन्लाईन जूम मीटिङ गरी कार्यक्रमको जानकारी दिइएको थियो । कार्यक्रममा महिला शसक्तिकरण सम्बन्धी कार्यक्रम समेत आयोजना गरिएको छ । उक्त कार्यक्रममा पूर्व युवराज्ञी शाहले ट्रष्ट स्थापना देखि हालसम्म गरेका कार्यहरु प्रस्तुत गर्ने र अन्य नेपाली तथा अष्ट्रेलियाका स्थापित एवम् दिग्गज महिलाहरुले सम्बोधन गर्ने उनको भनाई छ ।
त्यस्तै अगष्ट ११ तारिखमा ट्रष्ट सदस्यहरु र हिमानी शाह तथा नेपालबाट आएका प्रतिनिधिहरुसगं आन्तरिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ भने अगष्ट १२ तारिखमा सिड्नीको पार्लामेन्ट हाउसमा मन्त्री तथा स्थानीय नेताहरुको सम्बोधनमा कार्यक्रम सञ्चालन हुने र सबै दिन च्यारिटी कार्यक्रम हुने उनले बताईन् ।
हिमानी कोष अष्ट्रेलियाको निमन्त्रणामा पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह, पूर्व राजकुमारी शीतश्मा राज्यलक्ष्मी देवी शाह र पूर्व राजकुमारी डिलाशा राज्यलक्ष्मी देवी राणा अष्ट्रेलिया आउने छन् ।
त्यस्तै टोलीको साथमा साइक रेश्मा राणा, सदस्य सचिव.डा अपणर्ा शाह, सञ्चालक समितिका सदस्य अधिवक्ता अनिता शर्मा, कानुनी सल्लाहकार स्मिता सिंह, पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहका स्वकीय सचिव समेत रहेकी छन् । संसदका सदस्यहरू, नेपाली दूतावासका महावाणिज्य दूतावास, अष्ट्रेलियाली गैरसरकारी संस्थाका प्रतिनिधिहरू र नेपाली डायस्पोराका सदस्यहरू कार्यक्रममा सहभागी हुनेछन् ।
कार्यक्रममा बहुसांस्कृतिक मन्त्री होर्न मार्क क्युरी, महिला सुरक्षा र घरेलु तथा यौन हिंसा रोकथाम मन्त्री नेटाली पेटा वार्ड लगायतले पनि सम्बोधन गर्नेछन् ।
कार्यक्रम सफल बनाउन हिमानी ट्रष्ट नेपाल र हिमानी कोष अष्ट्रेलियाबीच २०२१ मा एमओयूमा हस्ताक्षर भएको थियो । उक्त परियोजना मार्फत नेपालका बाढी प्रभावित क्षेत्रका १०,००० पिछडिएका बालबालिकालाई शुद्ध प्रशोधित एवम् सुरक्षित पिउने पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
हिमानी कोष अस्ट्रेलिया सिड्नीमा २०२० मा स्थापना भएको हिमानी ट्रस्ट नेपालको पहिलो अन्तर्राष्ट्रिय च्याप्टर हो । हिमानी ट्रस्ट नेपाल काठमाण्डौमा रहेको एक परोपकारी, गैरराजनीतिक र गैरसरकारी संस्था हो, जुन २८ सेप्टेम्बर २०१० मा पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहको नेतृत्वमा स्थापना भएको थियो ।
यसले नेपालमा दिगो जीविकोपार्जन, बालबालिका, शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, वातावरण र प्राकृतिक प्रकोप जस्ता क्षेत्रहरूमा जीवनस्तर सुधारको पक्षमा काम गर्दै आईरहेको छ ।






