नेपाली दूतावास लण्डनले स्कटल्याण्डमा घुम्ती सेवा सञ्चालन गर्यो : १ सय जनाले लिए सेवा

लण्डन । लण्डनस्थित नेपाली दूतावासले स्कटल्याण्डमा संचालन गरेको घुम्ती सेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन् ।

गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दूतावासले आइतबार र सोमबार गरेर दुई दिन सो क्षेत्रमा घुम्तीसेवा संचालनमा ल्याएको थियो ।

गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्वल कार्कीका अनुसार एवर्डिनमा ४० जना र एडिनबरामा ६० जनाले दूतावासको सेवा लिएका थिए ।

नेपाली दूतावासको तर्फबाट रामबावु नेपालको नेतृत्वमा खटिएको ६ जनाको टोलीले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायतको सेवा प्रत्यक्ष रुपमा प्रदान गरेको थियो ।

दूतावासले दिएको सेवाप्रति गैरआवासीय नेपाली संघ स्कटल्याण्डले आभार व्यक्त गरेकोछ । दूतावासको घुम्तीसेवा संचालन गर्न स्कटल्याण्ड पुगेको टोलीलाई अध्यक्ष भण्डारी, समाजसेवी घनश्याम भण्डारी, नविन क्षेत्री लगायतले महत्वपूणर् सहयोग गरेका थिए ।

एनआरएनए स्कटल्याण्डको विधान संशोधनको तयारी

यसैबीच गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदले आफ्नो विधान संशोधनको लागि सुझाव संकलन सुरु गरेको छ ।  सो विधान संशोधनको लागि आइतबार एक भेलाको आयोजना गरेर सुझाव संकलन गरिएको विधान समितिको संयोजक उज्वल कार्कीले जानकारी दिए ।

एनआरएनए स्कटल्याण्डले संघको आइसीसी सदस्य, सदस्यता शुल्क, महाधिवेशन प्रतिनिधि, सदस्यता वितरण सम्बन्धी व्यवस्थामा व्यापक विधान संशोधनको तयारी गरेको छ ।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा भएको भेलामा एनआरएनए यूकेका उपाध्यक्ष नारायण कंडेल, मोहन कार्की, एनआरएनए स्कटल्याण्डका संरक्षक भोला खनाल, घनश्याम भण्डारी, सुमी भण्डारी लगायतले आआफ्नो सुझाव दिएका थिए ।

कार्यक्रम संचालन मनिष खत्रीले गरेका थिए ।