नेप्लिज पेञ्चस कम्युनिटी अस्ट्रेलियाद्धारा डेभिड कोडम्यानलाई बधाई तथा सम्मान

सिड्नी । नेप्लिज पेञ्चस कम्युनिटी अस्ट्रेलियाले डेभिड कोडम्यानलाई बधाई तथा सम्मान गरेको छ । न्यू साउथ वेल्स राज्यको बैकंस् निर्वाचन क्षेत्रबाट सांसद पदमा विजयी कोडम्यानलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

नेप्लिज पेञ्चस कम्युनिटी अस्ट्रेलियाका अध्यक्ष लक्ष्मण श्रेष्ठका अनुसार निर्माणाधिन सामुदायिक भवनका लागि नेप्लिज पेञ्चस कम्युनिटीको आग्रहलाई स्वीकार गर्दै फेडरल सरकारको तर्फबाट १ मिलियन डलर स्वीकृत गरिदिएकोमा कोडम्यानलाई आभार तथा धन्यवाद समेत व्यक्त गरिएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले चौँथो पटक सांसद पदमा विजयी भएको प्रति डेभिड कोडम्यानलाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सामुदायिक भवन निर्माणका लागि पुर्याएको योगदान प्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि साथ सहयोग रहने अपेक्षा समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका सांसद कोडम्यानले नेप्लिज पेञ्चस कम्युनिटीले बधाई कार्यक्रमको आयोजना गरेको प्रति धन्यवाद व्यक्त गर्दै कम्युनिटीसगं हिजोका दिनहरुमा पनि आफु नजिकबाट सहकार्य गर्दै अगाडी बढेको र आगामी दिनमा पनि सहयोग र सहकार्य निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गरे । उनले कम्युनिटीले गरिरहेका कामहरुको उच्च प्रशसां समेत गरे ।

कार्यक्रममा न्यू साउथ वेल्स महावाणिज्य दूतावास दीपक खड्का, काउन्सिलर निकोलस स्मेड्ली, एनएडिएफको पूर्व अध्यक्ष विवेक थापा, हिमानी ट्रष्टकी अध्यक्ष अञ्जना बस्नेत कार्की, कम्युनिटीका उपाध्यक्ष सवि सिहं महर्जन,सदस्य विदुर सापकोटा, समाजसेवी नवराज खराल,विद्यार्थी ईरा शर्मा लगायतले मन्तव्य व्यक्त गर्दै सांसद पदमा विजयी भएकोमा कोडम्यानलाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा गुल्मी समाज अस्ट्रेलियाका अध्यक्ष श्याम केसी, अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसन अध्यक्ष ऋषि आचार्य,शव्दमालाका पूर्व अध्यक्ष डा.प्रकाश पौड्याल, झापाली समाज अस्ट्रेलियाका पूर्व अध्यक्ष उमेश पोखरेल लगायत कम्युनिटीका पदाधिकारी र स्थानीयहरुको सहभागीता रहेको थियो ।

सोही अवसरमा नेप्लिज पेञ्चस कम्युनिटी अस्ट्रेलियाले गरिरहेका विभिन्न कार्यहरु र गतिबिधिहरुको बारेमा हरि केसी र डा.प्रकाश केसीले श्रव्य दृष्य सहितको प्रस्तुतीकरण दिएका थिए  भने सलिना सैजु र स्वीकृति आचार्यले नेपाली मौलिक संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।

नेप्लिज पेञ्चस कम्युनिटी र नेप्लिज अस्ट्रेलियन एशोसियनसनको सयुंक्त पहलमा निर्माण हुँदै गरेको सामुदायिक भवन जुलाई २०२३ सम्म निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याउने उक्त कार्यक्रममा जानकारी गराईएको थियो ।