तक्दीर अधिकारी
सिड्नी । नेप्लीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडीएफ)ले नेपालका विभिन्न पाँच जिल्लामा कोरोनाभाइरस महामारी प्रभावित दलित तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । कोभिड– १९ का कारण बेरोजगार भई दैनिक गुजारा गर्न समस्या भोगिरहेका विपन्न दलित परिवारलाई लक्षित गरी दुई महिना सम्म विभिन्न चरणमा खाद्यान्न राहत वितरण गरिएको फोरमका अध्यक्ष सुरेन्द्र सापकोटाले जानकारी दिए ।
कार्तिक २३,२४ र मंसीर २६ मा पर्सा जिल्लाको अलौमा १०५, सुगौलीमा ३८ र १२५ लक्ष्मीपुरमा २५८ दलित तथा विपन्न परिवारलाई प्रति घरपरिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नुन र मास्क वितरण गरिएको छ ।
त्यस्तै कार्तिक २८ मा जाजरकोटको भेरी नगरपालिका अन्र्तगत खलंगाको गौरीखालीमा ५३ परिवार, कुटुमा ६ परिवार र पुन्याको स्याउली बजारमा ३३ घर परिवार सहित १०३ विपन्न तथा गरिव परिवारलाई प्रति परिवार ३० किलो चामल र २ किलो दाल बितरण गरिएको थियो ।
मंसिर ४ मा रौतहटको गरूडामा १६० दलित तथा विपन्न परिवारलाई प्रति घरपरिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नुन र मास्क वितरण गरिएको थियो । मंसीर २२ मा कालिकोटको राचुलीमा १३ घर परिवार र मंसीर २३ मा मान्म मा १५० परिवारलाई प्रति परिवार ३० किलो चामल र २ किलो दाल, तथा सोही दिननै कालिकोटको राचुलीमा मंसीर १३ गते भएको आगलागीबाट वास र गाँस गुमाएर कष्ट्कर जीवन निर्वाह गरिरहेका पिडित १३ परिवारलाई प्रति परिवार २÷२ वटा स्लिपिंग ब्याग, टेन्ट र २÷२ हजार नगद सहयोग गरिएको थियो । यसैगरी पुष ५ गते सर्लाही जिल्लाको चन्द्रनगर मा ११५ दलित परिवारलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नुन र मास्क प्रदान गरिएको थियो । गाउँका अति नै विपन्न्,गरीब र दलित परिवारहरुलाई लक्षित गरी उनीहरुकै गाउँ वस्तीमा पुगेर खाद्यान्न राहत बितरण गर्ने संस्थाका प्रयासमा स्थानिय बासिन्दाहरुले पूर्णरुपमा साथ दिएका थिए ।

अस्ट्रेलियाको नेपाली समुदायमा पुरानो सस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अस्ट्रेलियन डेमोक्रेटिक फोरम १९९८मा स्थापना भई काम गर्दै आएको छ । “शताव्दीको सबैभन्दा ठुलो मानवीय संकट कोभिड १९ का कारण बेरोजगारी, भोक र रोगले पिडीत नेपाली दाजुभाइ दिदीबहिनीहरुको पिडामा मल्हम लगाउने हाम्रो उद्धेश्य हो, ” अध्यक्ष सापकोटाले भने , “समस्या धेरै तिर धेरै किसिमको छ, सबै तिर पुग्न सम्भव छैन तर यो कठिन घडीमा साथीहरुको सहयोग र हाम्रो सानो प्रायसबाट सयौ भोका पेटहरुमा दालभात पुर्याउन सकिएकोमा भने हामी सन्तुष्ट छौ ।”
संस्थाले वीरगन्जमा राहत वितरणमा सहयोग गर्ने पत्रकार पत्रकार चन्द्रकिशोर, जाजरकोटमा पत्रकार मित्र जनक केसी, कालिकोटमा नेपाल तरुण दलका महामन्त्री भुपेन्द्र शाही, वीरगन्जमा नेपाली काँग्रेस तराइ मधेस बिभागका प्रमुख अजय चौरसिया र स्थानीय जनप्रतीनिधीहरुलाई धन्यवाद दिएको छ ।
यस अभियानमा जम्मा ४लाख १२ हजार ३७ रकम संकलन भएको थियो भने राहत बितरणमा ४ लाख ११ हजारर ८६१ खर्च गरिएको अध्यक्ष सापकोटाले बताए ।
“हामीले हाम्रो जन्मभूमि लाइ अफ्ठेरो परेको बेला सानो भएपनि सस्थाको तर्फबाट यो मानवीय सहयोग गरेका हौ”, उनले भने, “आगामी दिनमा पनि सस्थाले अगाडी बढाउने यस्ता सामाजिक कार्यमा सबैको साथ र सहयोग पाउने विश्वास लिएका छौँ ।”






