एडमन्सन पार्क बार्डिया नेप्लिज कम्युनिटी अस्ट्रेलियाले नयाँ वर्ष धुमधामका साथ मनाउँदै

तक्दीर अधिकारी

सिड्नी । अस्ट्रेलियाको दक्षिण पश्चिम सिड्नीमा रहेको एडमन्सन पार्क बार्डिया नेप्लिज कम्युनिटीले नेपाली नयाँ वर्ष धुमधामका साथ विविध कार्यक्रमका सहित मनाउने भएको छ । समुदायले नयाँ वर्षको स्वागतार्थ यही अप्रिल १४ गते बिहिवार बेलुकी ३ बजेदेखि राति १० बजेसम्म साउथ वेस्ट सिड्नीमा साँस्कृतिक, मनोरञ्जनात्मक र शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

एडमन्सन बार्डिया नेप्लिज कम्युनिटीले नयाँ वर्षको अवसरमा पहिलो पटक बृहत कार्यक्रमको आयोजना गरेको हो । स्थानीय नेपाली समुदायको संस्कृति झल्कने सागींतिक झलक सगैं नेपाली गायक गायिका र नृत्य सहितको सांस्कृतिक प्रस्तुती रहने कार्यक्रमका मिडिया सयोंजक रमेश अधिकारीले जानकारी दिए । गोर्खे ईन्टरटेन्टमेन्ट र एसआईडी ईभेन्ट्सले कार्यक्रमको मुख्य सयोंजन गरेका छन् ।

कार्यक्रम सम्पन्न गर्नका लागि अस्ट्रेलिया स्थित विभिन्न व्यापार व्यवसायहरुले प्रायोजन गरेका छन् । कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली कलाकारहरुले सागिंतिक एवम् मनोरञ्जनात्मक प्रस्तुती दिने छन् । अस्ट्रेलियामा रहेका नेपाली समुदायका नयाँ पुस्ता र अन्य देश र समुदायका मानिसहरुलाई एकताबद्ध गर्दै बहुसांस्कृतिक समुदायमा नेपाली संस्कृति, नृत्य र गीतलाई प्रस्तुत गर्ने अपेक्षा पनि आयोजकले गरेको छ । कार्यक्रममा अरबी, अफ्रिकी, भियतनामी, बंगाली, इन्डियन र अन्य समुदायका मानिसहरु पनि सहभागी हुनेअनुमान गरिएको छ ।

कार्यक्रममा नेपाली समुदायका गायकहरु रमण रेग्मी, ईश्वर पोखरेल, समीर आचार्य, बिधान पाण्डे, चर्चित गायिका मोक्षदा सिलवाल र उदीयमान गायिका आरुसी पोखरेल, गायिकाहरु प्रिया दास र शोभा लगायतले सांगितिक प्रस्तुती दिने आयोजकले जनाएको छ । त्यस्तै अङ्ग्रेजी गायक भिभियन म्याकविलियम्स र लान आन्हले पनि कार्यक्रममा प्रस्तुति दिनेछन् भने नर्तक दिपेन बानियाको नेतृत्वमा पेनरिथमा आधारित लोकनृत्य प्रस्तुत गर्ने बताईएको छ ।

नेपाली चलचित्रका डान्सर सुशान्त कार्कीले पनि नृत्य प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा झण्डै १ हजार ५ सय दर्शकको उपस्थिति हुने आयोजकको अनुमान रहेको र सोही अनुसार तयारी गरिएको बताईएको छ ।

स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि नेपालका नेता र कूटनीतिज्ञ अतिथिहरूको उपस्थितिमा कार्यक्रमको आयोजना गर्न लागिएको अधिकारीले बताए । कार्यक्रममा लिभर पूल सिटी, क्याम्पबेलटाउन सिटी, क्याम्डेन सिटी,कम्बरल्याण्ड लगायतका काउन्सिलका मेयरहरुको उपस्थिति रहने छ ।

त्यस्तै नेपाली राजदूतावास क्यानबेराका प्रतिनिधि, दक्षिणपश्चिम र पश्चिम सिड्नीका काउन्सिलहरूका काउन्सिलरहरू, नेपाली समुदायका नेताहरु, विभिन्न जातीय समूहका स्थानीय समुदाय सदस्यहरू लगायतको उपस्थिति रहने बताईएको छ ।  प्रवेश शुल्क निशुल्क रहेकाले पायक पर्ने सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आयोजकले आग्रह समेत गरेको छ ।