काठमाडौं । संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् । भाइरस संक्रमण उल्लेखनिय नघटेको निष्कर्ष निकाल्दै बैठकले कृषि र निर्माण क्षेत्रमा केही खुकुलो हुने गरि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहेनछ ।
‘संक्रमण पनि नघटेको र खेतीपातीको सिजन पनि सुरु भएकाले यो परिस्थितीलाई ध्यानमा राख्दै निषेधाज्ञा थप्ने निर्णय गरेका छौं’ भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले भने, ‘संक्रमण दर ३० प्रतिशत तल नघटेकाले निषेधाज्ञा थप्ने निर्णय भएको हो ।’
बैठकले खाद्य तथा किराना पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । होटल-रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल-रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् । इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।
यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन ।
यसअघि थपिएको निषेधाज्ञा सोमबार राति सकिँदै छ। त्यसपछि असार ७ गते मध्यरातिसम्म नयाँ मापदण्डअनुसार निषेधाज्ञा गर्ने काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निर्णय गरेका हुन्।






