पत्रकार महासंघ यूकेको उपाध्यक्षमा लण्डन नेपाल न्यूजका प्रधानसम्पादक भण्डारी निर्वाचित

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको उपाध्यक्ष पद (खुला) मा लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारी निर्वाचित भएका छन् ।

निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्ने प्रक्रियामा उपाध्यक्ष पदका अर्का प्रत्याशी एभरेष्ट गौतमले निर्धारित समयमा दस्तुर नतिरेर उम्मेद्ववारी रद्ध हुँदा भण्डारी निर्विरोध भएका हुन् ।

पत्रकार महासंघ यूकेको दुई कार्यकाल सचिवमा निर्वाचित भइ उल्लेखनीय काम गरेका उनले निर्विरोध भएपछि उनले बेलायतको नेपाली पत्रकारिता जगतलाई अझै व्यवसायिक बनाउन थप क्रियाशिल हुने जनाए ।

लगनशील र मिहेनतका साथ बेलायतस्थित नेपाली समुदायमा पत्रकारिताको भूमिका निभाएका कारण आज उच्च नेतृत्वमा पुग्न सफल भएकामा खुशी ब्यक्त गर्दै भण्डारीले सबैप्रति आभार समेत ब्यक्त गरे ।

भण्डारीले बेलायतमा विगत १२ बर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।

नेपालको गुल्मी धुर्कोट स्थायी घर भएका भण्डारीले महासंघका तत्कालिन अध्यक्ष चिरन शर्माको पालामा बीबीसी नेपाली सेवामा कार्यरत भगिरथ योगीसँग समन्वय गरेर करिब एक दशक अघि लण्डन नेपाल न्यूज नामक आफ्नै अनलाइन समाचार पोर्टल शुरू गरेका थिए ।

भण्डारीको नेतृत्वमा सञ्चालित लण्डन नेपाल न्यूज हाल बेलायतकै अत्याधिक रुचाइएको अनलाइन पत्रिका मानिन्छ भने यो समस्त गैरआवासीय नेपालीहरुको मन मुटुमा बस्न सफल भएको छ ।

यस्तो बन्यो नयाँ कार्यसमिति
शाखाको अध्यक्षमा ध्रुवराज अर्यालले २६ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मत पाए ।

वरिष्ठ उपाध्यक्षमा ३२ मतसहित दिनेशकुमार परियार तथा महासचिवमा नरेन्द्र बस्नेत विजयीले २७ मत ल्याएर विजयी भएका छन् ।

शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको हो । जम्मा ४३ मतदातामध्ये ३८ जनाले पोस्टल मतदान गरेका थिए भने बाँकी ५ जनाले आइतबार प्रत्यक्ष मतदान गरेका हुन् । ति मध्य १ भोट बदर भएको थियो ।

महासंघ बेलायतको नयाँ कार्यसमितिको उपाध्यक्षमा यसअघि नै शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिनेछन् । तीन वर्ष कार्यकाल रहने नयाँ कार्यसमितिलाई अधिवेशन केन्द्रिय प्रतिनिधि वरिष्ठ पत्रकार भगीरथ योगीले निर्वाचित समितिलाई शपथ खुवाएका थिए ।

निर्वाचन सम्पन्न गर्नको निम्ती रमेश सराङकोटीको संयोजकत्वमा संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य तथा सोलिसिटर दीपक भट्टराई कानूनी सल्लाहकार रहेको निर्वाचन समिति बनाइएको थियो ।