मोर्चाले संशोधन प्रस्तावको समर्थन गरिसकेको प्रधानमन्त्रीको खुलासा

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चाले संविधान संशबोधन प्रस्तावको समर्थन गरेको खुलासा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मोर्चाले संशोधन प्रस्तावको समर्थन गरेको भन्दै अव प्रस्ताव पास हुने भन्दै त्यसमा आशंका गर्न नहुने धारणा राखे ।

मधेशी मोर्चाका नेताहरुले शनिवार बेलुका प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । सोही भेटको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरुले संशोधन प्रस्तावको पक्षमा उभिने बचन दिनु भएको बताएका हुन् ।
यस अघि मोर्चाका नेताहरुले यथास्थितिमा संविधान संशोधन प्रस्तावको पक्षमा उभिन नसकिने अडान राख्दै आएका थिए ।

विराटनगरमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले संविधान संशोधन प्रस्तावलाई विधिसम्मत ढंगले टुंगोमा पु¥याउन विपक्ष एमालेसहितका दलहरु पनि सहमतिमा आउनै पर्ने जिकिर गरे ।

प्रधानमन्त्री दाहालले पहिले स्थानीय तहको निर्वाचन हुने पनि बताए ।
स्थानीय तह त्यसपछि प्रदेश सभा र अन्तमा संघीय संसदको निर्वाचन हुने उनको भनाई छ ।
संघीय संसदको निर्वाचन पहिले हुनुपर्ने विपक्ष एमाले भित्र बहस सुरु भइरहेका बेला प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन सरकारको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारे ।
उनले संघीय संसदको निर्वाचन पहिला हुनुपर्छ भन्नु संविधानको मर्म विपरित हुने तर्क पनि गरे ।

प्रधानमन्त्री दाहालले सबै दललाई एक ठाउँमा ल्याई निर्वाचन गराउन प्रयास भइरहेको जानकारी पनि दिए ।