परासी – मधेस विरोधी अभिव्यक्ति दिएको भन्दै नवलपरासीका मधेसवादी दलहरुले तीन दलका नेताहरुको पुत्लाको फाँसी दिएका छन् ।
तीन दल र मोर्चासँग भएको सहमति कार्यान्वयन गराउन उनीहरु बाधक रहेको र सीमांकन विरोधी अभिव्यक्ति दिएको भन्दै संयुक्त मधेसी मोर्चामा आवद्ध दलहरुले एमाले अध्यक्ष केपी ओली, एमाओवादीका टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका चन्द्र भण्डारीको पुत्ला बनाएर परासीको बुद्धचोकमा फाँसी दिएका हुन् ।
सीमांकनविरुद्ध एमालले विभिन्न जिल्लामा गरेको बन्दको विरोध गरेका छन् । बुद्धचोकमा आयोजित उक्त विरोध कार्यक्रमपछि आयोजित कोणसभामा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले संविधान संशोधन प्रस्तावमा आफूहरुका माग समावेश नभए मधेसमा आन्दोलन चर्काउने चेतावनी दिए ।
प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला टुक्राएको विरोधमा एमालेलगायतका दलहरुले रुपन्देही, पाल्पा, अर्घखाँची, गुल्मी र नवलपरासीमा सुरु गरेको विरोधका कार्यक्रमको सो दिनदेखि नै जिल्लाका मधेसवादी दलहरुले पनि सीमांकनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।






