धांधली गरेको आरोपमा एनआरएन युकेको मतगणना स्थगित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको शनिवार भएको मतगणना स्थगित भएको छ । एनआरएन युकेको नयां कार्य समिति चुन्न शनिवार भएको मतदान पछि तीव्र विवाद उत्पन्न भएको छ। दुवै पक्षले एक अर्का विरुद्ध धांधली गरेको आरोप लगाए पछि मतगणना कहिले शुरु हुने हो अनिश्चित भएको छ।

निर्वाचन समितिले बिहान पौने ३ बजे एक पत्रकार सम्मेलन गर्दै बेजिगंस्टक, ह्यारो र रेडिगंको मतदान केन्द्रमा भएको मतदान स्थगित गर्न माग गर्दै निवेदन आएकाले मतगणना स्थागित गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शिवजी श्रेष्ठले सबै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण सम्पन्न भए पनि तीनवटा मतदान केन्द्रमा उजुरी परेको त्यसमा सहमति भए पछि मात्र मतगणना गरिने बताए । बेजिंगस्टोक मतदान केन्द्रमा एक पक्षीय रुपमा मतदान गरिएको भन्दै शेर सुनार समूहका मतदान प्रतिनिधि मुचुल्कामा हस्ताक्षर नगरीकनै बाहिरिएका थिए ।

राति करिब १० बजे तिर मत गणना गरिने स्थान अल्डरशटस्थित एम्पायर हलमा बेजिंगस्टोकबाट मतपेटिकाहरु बुझाउन ल्याउंदा शेर सुनार समूहले विरोध जनाएको थियो। त्यस पछि दुवै समूह बीच भिडन्तको स्थिति समेत देखिएको थियो । पछि अध्यक्षका उम्मेदवार शेर सुनार तथा एनआरएन युकेका निर्विरोध निर्वाचित उपाध्यक्ष नारायण कंडेलले निर्वाचन समितिसंग वार्ता गरेका थिए । तर कुनै टुंगो लाग्न सकेन ।

अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङको गृह क्षेत्र रहेको बेजिंगस्टोक मतदान केन्द्रमा बिहानैदेखि एकलौटी गर्ने प्रयास गरिएको भन्दै अध्यक्षका प्रत्यासी शेर सुनार समूहले लिखित उजुरी निर्वाचन समिति समक्ष बुझाए पछि पुनम समूहले ह्यारो बुथमा धाँधली भएको भन्दै निवेदन दिएका थिए । पञ्जिकृत सदस्यका हिसाबले एनआरएन यूके विश्वका ८० शाखामध्ये सबैभन्दा ठूलो बनेपनि निर्बाचन यस्तो हुनु अशोभनीय कार्य गरेको केही अभियन्ताको आक्रोश छ ।

यसपटक मतदाता संख्या १३ हजार ६ सय २९ थिए । निर्वाचन समितिले कति मत सम्म खस्यो भन्ने समेत विवरण दिन सकेको छैन ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *