पूर्व डिएसपी चन्दलाई सिधै अदालत लगियो

काठमाडौं, १३ आषाढ  । संचार उद्यमी जमीम साहको हत्याका योजनाकार मानिएका फरार अभियुक्त नेपाल प्रहरीका पूर्व डिएसपी जगदिश चन्दलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले चन्दलाई शनिबार काठमाडौंको बानेश्वरको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी चन्दलाई सार्वजनिक गर्ने भने पनि सार्वजनिक नगरी सिधै अदालत लगेको थियो । काठमाडौको  लाजिम्पाटमा २०६६ माघ २४ गते जमीम साहको गोली हानी हत्या गरिएको थियो ।
उनीमाथि नक्कली शैक्षिक प्रमाण पेश गरी प्रहरीमा भर्ना भएको र पछि साहको हत्याको योजनासहित नेपाल आएका भारतीय अपराधी बब्लु श्रीवास्तवको मुख्य सहयोगीको भूमिका खेलेको आरोप लगाइएको छ । बब्बुलाई बस्ने ठाउँको ब्यवस्था पनि चन्दले नै गरेको प्रहरीले जनाएको छ ।