काठमाडौं, १३ असार । भूमाफियाले बालुवा तस्करी गरेर सामुदायिक वनको जग्गा मास्न खोजेपछि उपभोक्ता समूहका पदाधिकारी एवम् सदस्य वृक्षारोपणमा सक्रिय भएका छन् । काठमाडौँको पूर्वी भेगस्थित कागेश्वरी मनहरा नगरपालिका–९ मूलपानीमा रहेको चखण्डोल सामुदायिक वनको १२० रोपनी जग्गामा विभिन्न जातका तीन हजार ५०० विरुवा रोपण सुरु गरिएको हो । वृक्षारोपणको सुरुवात गर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि सकारात्मक काम भएको बताउनुभयो ।
“भूमाफियाले आँखा लगाएको सार्वजनिक जमिनमा वृक्षारोपण गरेर सामुदायिक वनले राम्रो काम गरेको छ, यस्ता काममा दल, सामाजिक कार्यकर्ता र सर्वसाधारण सबैको सहभागिता रहनुपर्छ”–नेता नेपालले भन्नुभयो ।
कार्यक्रममा सभासद् दीपकप्रसाद कुइँकेल र रामेश्वर फुयाँलले सार्वजनिक जमिनको संरक्षणका लागि वृक्षारोपणलाई अनिवार्य गर्न सकिए वातावरणीय सन्तुलन कायम हुनुका साथै सार्वजनिक जमिनको संरक्षण हुनेमा जोड दिनुभएको थियो ।
सो अवसरमा राष्ट्रिय सहिद तथा शान्ति स्मारकका अध्यक्ष सुदर्शन सिग्देल र सामुदायिक वनका अध्यक्ष राजेश कट्टेललगायत समूहका पदाधिकारी एवम् सदस्यले एक हजार ७०० लप्सी, आँप, लहरे पीपल, पैयुँ र उत्तीस जातका विरुवा रोपेका थिए । बाँकी एक हजार ८०० विरुवा रोप्ने काम सोमबार गरिने सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।
मूलपानीमा भूमाफियाको आँखा






