पतिको सम्पत्ति कुम्ल्याएर पत्नी टाप

क्वालाम्पुर, १३ असार । मलेसियाको जोहरस्थित क्यवेज सेक्युरिटी कम्पनीमा कार्यरत भोजपुरको नागी गाविसका उदय हाङ राई केही महिना अघिदेखि मानसिक रोगीजस्तै भएका छन् । उनी अहिले खाना खाने र ड्युटी जाने समय पनि भुल्न थालेका छन् । पैसा कमाएर घरबार सुन्दर बनाउने सपना साँचेर मलेसिया आएका राईकी पत्नी पोइल हिँडेपछि उनी विक्षिप्त भएका हुन् ।
केही वर्षअघिमात्रै बैबाहिक जीवन शुरु गरेर पैसा कमाउन मलेसिया पसेका थिए । उनी मलेसिया आएर कमाएको सबै सम्पत्ती लिएर पत्नीले अर्कैसँग बाटो तताएपछि भाइ मानसिक रोगी बनेको उनका दाजु भीम राईले बताए । नाबालक छोरो बेवारिसे छाडेर पत्नी मैया महिना दिनअघि उनकै छिमेकी अधिराज काङमाङसँग पोइल हिँडेकी हुन् ।
‘सबै सम्पत्ती लिएर पत्नी छिमेकीसँग पोइल हिँडेपछि भाइ मानसिक रोगी बनेको छ’, दाजु भीमले भने, ‘भाइले कमाएको पैसा घर पठाएको केही दिनमै बुहारी पोइल हिँडिछ ।’तीन वर्षको नाबालक छोरो घरैमा छाडेकी मैयाले करिब ६ लाख रुपैयाँ र सुनचाँदी सबै कुम्ल्याएर हिँडेकी छन् । ‘मलेसियामा कमाएर भाइले पठाएको सबै सम्पत्ती बुहारीले कुम्ल्याएर पोइल गएपछि घरमा नाबालक भतिजको बिजोग भएको छ’, भीमले भने, ‘सबै अचल सम्पत्ती पनि मैयाकै नाममा भएकाले झन समस्या थपिएको हो ।’
पोइल हिँडेपछि मैयाविरुद्द उदयका परिवारले दिएको उजुरी प्रहरीले लिन मानेको छैन ।