धनगढी, पुस ३० –संविधान जारी गर्ने मिति माघ ८ गते नजिकिदै गर्दा सुदूरपश्चिममा सुरक्षा सर्तकता बढाइएको छ । संघिय संरचनामा सुदूरपश्चिम खण्ड वा अखण्ड जे भएपनि आन्दोलन हुने खतरा बढेपछि सुरक्षा सर्तकता बढाइएको प्रहरीले बताएको छ ।
तराईका कैलाली कञ्चनपुर सहितको सिङगो सुदूरपश्चिमको एक प्रदेश बनाइए थारुहट पक्षको आन्दोलन हुने र कैलाली कञ्चनपुरलाई थारुहट वा अन्यत्र गाभिए पनि अखण्ड सुदूरपश्चिमको आन्दोलन चर्कने खतरा बढ्दै गएपछि अप्रिय घटना नहोस भनेर सुरक्षा सतर्कता बढाइएको क्षेत्रीय प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक जयवहादुर चन्दले बताए ।
पहिलो संविधानसभादेखि नै विवादीत बन्दै आएको सुदूरपश्चिममा संघियताको मुद्दालाई लिएर फेरी पनि आन्दोलन हुने संकेत बढ्दै गएकोले अप्रिय घटना हुन नदिने गरी प्रहरीले रणनीतिक योजना बनाएको डिआइजी चन्दको भनाई छ ।
संघिय संरचनामा कैलाली कञ्चनपुरको भुगोललाई टुक्र्याउने की भन्ने प्रस्तावमा छलफल मात्रै हुँदासमेत अखण्ड पक्षधले खबरदारी गरिसकेका छन् भने थारुहट पक्षधरहरु कैलाली कञ्चनपुर कुनैपनि हालतमा नछाड्ने अडान राखेर बन्द हड्तालमा उत्रेका छन । दुबै पक्षले आन्दोलनका लागि तयार रहन कार्यकर्तादेखि जनतासंग आग्रह गरिरहेका बेला स्थानिय प्रहरी प्रशासन पनि चनाखो भएको छ ।
अखण्ड र थारुहटकालागि दुवैपक्ष आ—आफ्नै अडानमा रहेका बेला कैलाली कञ्चनपुरको भुगोलमा दलहरुबीच हुने सहमति राष्ट्रिय रुपमै ब्य¨य प्रतिक्षाको विषय समेत बनेको छ । कुनैपनि निर्णय हुनासाथ कुनै न कुनै पक्ष आन्दोलनमा उत्रिने खतरा बढेपछि सर्वपक्षिय समन्वयको आवश्यकालाई मध्यनजर गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
उता कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले कैलाली कञ्चनपुरबारे ‘गिभ एण्ड टेक’ को अन्तिम ‘टेक अफ वार’ सुरु भएको बताए । तर, कांग्रेसकै थारु सभासद्हरुले कैलाली कञ्चनपुरका केही पहाडी भागलाई छोडेर भएपनि तराईको भुगोल थारुहट हुनुपर्ने माग उठाउनुले स्थिति अफ्ठ्यारो भइरहेको कांग्रेस स्रोतले बताएको छ ।
गृह मन्त्रालयवाट माघ ८ पूर्व र संविधान जारी नभएको अवस्थामा त्यसपछि हुनसक्ने चुनौतीको सामना गर्नेगरी कडा सुरक्षा व्यवस्थाका लागि स्थानीय जिल्लालाई निर्देशन आईसकेकोले प्रहरीले माघ ८ को सेरोफेरोमा शान्ति सुरक्षाको वातावरण भंग हुन नदिन संविधानसभाको निर्वाचनमा भाग नलिएका पार्टीका केही नेतासहितका विभिन्न व्यक्तिहरुलाई पनि निगरानीमा राखिरहेको स्रोतको दावी छ ।






