एभिन्यूज टेलिभिजनको इजाजत रद्द

काठमाडौं, १३ जेष्ठ । सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजन प्रालिको इजाजत पत्र रद्द गरेकामा टेलिभिजन ब्रोडकास्टर्स नेपाल, टिवीएनले आपत्ति जनाएको छ । इजाजत रद्द गर्नु गैरजिम्मेवार क्रियाकलाप भन्दै टिवीएनले भत्र्सना गरेको हो । टीवीएनका उपाध्यक्ष गणेशकुमार अग्रवालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने, प्रशारणमा अवरोध सृजना गर्ने, मिडियालाई आतंकित पार्ने तथा सञ्चार उद्योगमा भएको ठूलो लगानी तथा रोजगारीलाई समेत हतोत्साहित गर्ने यस्तो गैर–जिम्मेवार क्रियाकलापको टीबीएन घोर भत्सर्ना गर्दछ ।’
यस्ता अलोकतान्त्रिक निर्णय अविलम्ब फिर्ता लिन र सहज किसिमबाट मिडिया सञ्चालनको बातावरण बनाउन सरकार तथा सम्बन्धित सबै सरोकारवालाहरुसँग जोडदार माग गर्दछ, बिज्ञप्तिमा उल्लेख छ । निजी मिडिया क्षेत्र भूकम्पका कारण सिर्जित प्रतिकूल परिस्थितिमा गुज्रीरहेको अवस्थामा सरकारले राहतलगायत संरक्षण प्रदान गर्नुपर्नेमा इजाजत रद्द गरिनु दुर्भाग्यपूर्ण रहेको बिज्ञप्तीमा जनाइएको छ ।