नयाँदिल्ली, १३ जेठ । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेश र तेलंगनामा गर्मीका कारण पछिल्लो एक हप्तामा ११ सय १८ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशमा ८ सय ५२ जना र तेलंगनामा २ सय ६६ जनाको मृत्यु भएको समाचार संस्था बिबिसीले उल्लेख गरेको छ।
सरकारी आँकडाका अनुसार पश्चिम बंगाल र ओडिसामा गरी २४ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशको तापक्रम मंगलबार ४७ डिग्री र तेलंगनाको ४८ डिग्री सेल्सियस पुगेको छ। दक्षिणी भारतमा अप्रिल महिनाको मध्यदेखि तापक्रम बढ्न थालेको हो तर मृत्युका घटना भने पछिल्लो एक हप्तायता भएको हो।
अत्याधिक तापक्रमका कारण अस्पतालहरु गर्मीको विरामीको उपचार गर्न तयारी अवस्थामा छन् भने सरकारले त्यस क्षेत्रका वासिन्दालाई घरभित्रै बस्न आग्रह गरेको छ। सरकारले गाउँहरुमा अभियान नै सञ्चालन गरेर हल्का खालका कपडा लगाउन र जरुरी काम बाहेक विहान ९ देखि अपरान्ह ४ वजेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ। त्यस क्षेत्रमा बिभिन्न संघसंस्थाले हजारौं खानेपानी क्याम्पहरु सञ्चालन गरेर सर्वसाधारणलाई खानेपानी सहज बनाएका छन्।
‘राज्य सरकारले टेलिभिजन र अरु सञ्चार माध्यमबाट सचेतना कार्यक्रम गरिरहेको छ, सर्वसाधारणलाई टोपी नलगाई बाहिर ननिस्कन र पानी धेरै पिउन आग्रह गरेको छ’ समाचार संस्था एएफपीले राज्य सरकारका प्रकोप व्यवस्थापन विशेष प्रतिनिधिको भनाईलाई उधृत गरेको छ ‘हामीले सरकार र गैर सरकारी संस्थाहरुलाई खानेपानी वितरण गर्न आग्रह गरेका छौं, जसले गर्दा सहरमा खानेपानी सजिलै उपलब्ध होस्।’
आन्ध्र प्रदेशको राजधानी शहर हैदरावादमा बस्ने अल्फ्रेड इन्सले सर्वसाधारणले धेरै सहयोग पाउन नसकेको बताएका छन्। सरकारले धेरै केही पनि गरेको छैन, तर व्यक्तिहरुले सक्दो सहयोगको प्रयास गरेका छन्’ उनले भने। मंगलबार भने तेलंगनाको तापक्रम केही घटेको छ। मे महिनाको अन्तिमबाट मनसुन सुरु हुने भएकाले तापक्रम घट्ने अपेक्षा गरिएको छ।
भारतमा गर्मीले ११ सय बढीको मृत्यु






